काठमाडौं – पहिलो पटक टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ । शनिबार पोखरामा सम्पन्न फाइनल प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी र महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ टिमले उपाधि हात पारेका छन् ।
त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पहिलो पटक टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरामा शनिबार सम्पन्न महिलातर्फको फाइनलमा आर्मीविरुद्ध एपीएफले २५–२३, २५–१५, २५–२० को सेटमा जित निकाल्यो । प्रतियोगिताको पहिलो संस्करणमा नेपाल पुलिसले जितेको थियो । यस पटक भने पुलिस चौथो स्थानमा रह्यो ।
विजेता एपीएफले तीन लाख रूपैयाँ र उपविजेता टोली आर्मीले एक लाख ५० हजार रूपैयाँ प्राप्त गरे । महिलातर्फको तेस्रो स्थानका लागि न्यु डाइमन्ड एकेडेमी र पुलिसबीच शनिबारै प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा महिलातर्फ आयोजक टाइगर ग्रूप अफ पोखरा नेपाल, साबिक विजेता पुलिस, एपीएफ, आर्मी र न्यु डायमन्ड गरी पाँच टोली सहभागी थिए । मंसिर २६ देखि सुरु भएको प्रतियोगिताको पुरुषतर्फ फाइनलमा हेल्प नेपाल र आर्मीबीच प्रतिस्पर्धा हुँदैछ ।
त्यस्तै पुरुषतर्फ हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले शनिबार टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन बनेको छ । पोखरामा सम्पन्न फाइनल खेलमा तीन भारतीय खेलाडीसहित कोर्टमा उत्रिएको हेल्प नेपाललाई २५–१८, २४–२६, २५–१८,२५–१९ को सेटमा पराजित गर्दै आर्मीले दोस्रो अवसरमा उपाधि चुमेको हो । हेल्प नेपाललाई भारतीय राष्ट्रिय खेलाडी अमित कुमार, विनीत कुमार र अप्पभु मुथुसामिसहित नेपाली राष्ट्रिय पुरुष टोलीको बन्द प्रशिक्षणमा परेका धिरज बस्नेत तथा घरेलु प्रतियोगिताका उदयमान खेलाडी नवीन महतोको साथ थियो ।
यता, आर्मीमा मान बहादुर श्रेष्ठ, राजेन्द्र विष्ट, धन बहादुर भट्ट क्षेत्री, हरि अधिकारीलगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि आर्मी उपाधि जित्न सफल भयो । गत वर्ष आर्मी गण्डकी प्रदेशसँग पराजित भएको थियो । शनिबार नै सम्पन्न महिलातर्फको फाइनल खेलमा आर्मीलाई एपीएफले २५–२३, २५–१५, २५–२० को सेटमा सहजै पराजित गर्दै उपाधि जित्यो ।
प्रतियोगिताको पुरुषतर्फको विजेता आर्मी र महिलातर्फको विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबले समान तीन लाख प्राप्त गर्नेछन् । यस्तै, उपविजेता टोली हेल्प नेपाल र महिलातर्फको आर्मीले समान एक लाख ५० हजार प्राप्त गर्नेछन् । ६ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ साबिक विजेता गण्डकी प्रदेशसँगै त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपीएफ) र हेल्प नेपाल स्पोर्टस क्लब र महिलातर्फ साबिक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ, न्यू डाइमन्ड एकेडेमी र टाइगर ग्रुप अफ पोखरा नेपाल सहभागी थिए ।