काठमाडौं – वैकल्पिक खेलाडी विजय भुजेलले अन्तिम समयमा गरेको निर्णायक गोलमा थ्री स्टार क्लब विजयी हुँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । शनिबार सम्पन्न दिनको दोस्रो खेलको ९० मिनेटको इन्जुरीपछि थपिएको ७ मिनेटको अन्तिम सेकेन्डमा विजयले गोल गर्दा संकटाको अपराजित यात्रा समेत टुंगियो । विजयले राफेल रिमको पासमा सदुपयोग गरे । जितसँगै थ्रीस्टारको ९ खेलबाट १६ अंक बनाउदै शीर्ष चारमा उक्लियो । संकटा भने १४ अंकसहित पाचौं स्थानमा झर्यो ।
यसअघि दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । त्रिपुरेश्वरस्थित दशरथ दोस्रो मिनेटमा थ्री स्टारका सन्जोक राईले पेनाल्टी एरियाको एजबाट गरेको प्रहार फ्रेममा परेन । चौथो मिनेटमा थ्री स्टारले अग्रता लिने अवसर गुमाएको थियो । डिफेन्डर निशान खड्काले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार सिधै संकटाका गोलकिपर राजाबाबु थापाको हातमा परेको थियो ।
थ्री स्टारका घनेफोले छैठौं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहारमा संकटाका कप्तान रवि सिलवाल बाधक बने । सातौं मिनेटमा संकटाका फरवार्ड फोडे फोफानाले पेनाल्टी एरियाबाट गरेको प्रहार स्टारका गोलकिपर प्रिसोले बचाए । त्यसको एक मिनेट नबित्दै लक्ष्मण रुचालले ६ यार्ड बक्स अगाडीबाट गरेको प्रहार क्रसबारमाथिबाट बाहिरिएको थियो । २२औं मिनेटमा राफाएल रिमले फ्रिकिममार्फत गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।
३४औं मिनेटमा लक्ष्मण रुचालको पासमा ओलुवासोगो ग्लोरीले ६ यार्ड बक्स अगाडिबाट गरेको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरे । पहिलो हाफको इन्जुरी समयमा थ्री स्टारका निसान खड्काको क्रसमा सन्जोग राईले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार फ्रेममा परेन । आइतबार लिगमा दुई खेल हुनेछ ।