विराटनगर– प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३४७ जनामा र सुदूरपश्चिम प्रदेशमा थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश नं १ मा ६९५ जनाको पिसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै गएको २४ घण्टामा सुदूरपश्चिम प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४८७ जनाको नमूना परीक्षण गर्दा १८४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको पिसीआर परीक्षणका आधारमा मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा पाँच, ताप्लेजुङ र भोजपुरमा दुई÷दुई, खोटाङमा एक र प्रदेश बाहिरका १९ जनामा संक्रमण भएको हो । प्रदेशमा सात महिलासहित २१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या एक हजार ६८० रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४८७ जनाको नमूना परीक्षण गर्दा १८४ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआरमार्फत सात र एन्टिजेनमार्फत १७७ जनामा पुष्टि भएको हो । पीसीआरमार्फत कमलबार अस्पतालमा सात र एन्टिजेनमार्फत कञ्चनपुरका ९३, कैलालीका ७७, बैतडीका सात र दार्चुलाका पाँच जनामा संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका तीन जिल्लामा आइतबार तीन हजार ३४७ नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा दुई हजार ५४५, ललितपुर ४७४ र भक्तपुरमा ३२८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये चार हजार ५३४ को पिसीआर र ४२७ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको नमूना परीक्षण गरिएको थियो । १२ हजार ५६२ जनाले पिसीआर र दुई हजार ५६९ जनाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये औषत संक्रमणदर ३६ दशमलव एक प्रतिशत छ ।