काठमाडौं – लास्ट फ्राइडे इभेन्ट म्यानेजमेन्टको आयोजनामा सुर, ताल र संगीतको संयोजन ब्यान्ड प्रतिस्पर्धा सुरु भएको छ । एपीवान टेलिभिजनमा ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ सुरु भएको हो । देशभर छरिएर रहेका ब्यान्डलाई मञ्च प्रदान गर्न ब्यान्ड च्याम्पियन गरिएको हो । ब्यान्ड च्याम्पियनको डिजिटल अडिसनमा देशभरका दुई सय ब्यान्डले सहभागिता जनाएका थिए । जसमध्ये ७० वटा ब्यान्ड जज अडिसनका लागि छनोट भएका छन् ।
द ब्यान्ड च्याम्पियन रियालिटी शोका निर्देशक फुर्वा शेर्पाले ब्यान्डका सबै सदस्यको उत्तिकै भूमिका रहने भएकाले सबैको प्रस्तुति हेरिने जानकारी दिए । ‘ब्यान्ड च्याम्पियन पावर, प्यासन र पर्फमेन्सको प्रस्तुति हो । यहाँ एक जनाको मात्रै होइन, पूरै समूहकै प्रस्तुति हेरिन्छ’, निर्देशक शेर्पाले भने, ‘प्रतिस्पर्धामा विशेषगरी रक, पप र आधुनिक मेलोडी गीतहरू प्रस्तुत हुनेछ ।’
ब्यान्डको प्रतिस्पर्धा भएपनि भोकल, म्युजिक र समूहको प्रस्तुति हुनेछ। जज राउन्डपछि ओरिजिनल सङ राउन्ड सुरु हुनेछ । जहाँ ब्यान्डले आङ्खनै गीत गाउनुपर्ने हुन्छ। ब्यान्ड च्याम्पियनको जजमा ड्रमर देव राना, भोकलिस्ट रविन तामाङ, गितारिस्ट ज्योति घिमिरे छन् । नेपाल आइडलकी गोल्डेन माइक विजेता मेगा श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नेछिन् । एपीवान टेलिभिजनमा शनिबार राती ९ बजे पछि प्रशारण हुने ब्यान्ड च्याम्पियनका विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुनेले ६ लाख, तेस्रो र चौथोले चार/चार लाख पुरस्कार पाउनेछन् । विजेता ब्यान्डले विभिन्न सात वटा देशमा प्रस्तुति दिने अवसर पनि पाउने बताइएको छ ।