कोहलपुर बाँके/ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका इञ्चार्ज प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहलाई शुक्रवार बिहानै एक जनाले टेलिफोन गरेर भेट्ने समय मागे । प्रहरी प्रमुखलाई भेट्न आउनका लागि टेलिफोन गर्नु कुनै अनौठो कुरा पनि भएन । कोही सेवाग्राही होलान् भनेर प्रहरी नायव उपरिक्षक सिंहले दिउसोको समय दिए भेट्नका लागि । भेट्न दिईएको समय बमोजिम दिउसो उनलाई भेट्न दुई जना कार्यकक्षमा आईपूगे ।
सिंहका अनुसार, अन्य सेवाग्राही जस्तो व्यवहार उनीहरुले नगरि सिधै आफुहरु गोरुको कारोवारी भएको उल्लेख गर्दै सहयोग गर्न आग्रह गरे । उनीहरुले तपाईको एरियाबाट पनि गोरु जान्छन्, गोरु जान सहज बनाईदिनु पर्यो भन्दै ५० हजार रुपैयाँ निकालेर टेबुलमा राखेको सिंहले बताए । प्रहरीले गर्ने काम प्रहरीले गर्छ, पैंशा मलाई के को लागि भन्दा आफुलाई सबै ठाउँमा मिलिसक्यो तपाई यो पैसा लिनुस्, भनेपछि आफुले उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए ।
पौष १३ गते शुक्रवार दिउसो प्रहरीकै कार्यकक्षमा आएर घुुस दिन खोज्ने गोरु तस्करहरु हेटौडा उपमहानगरपालिका ४ का अव्दुल देवान र कोहलपुर १२ का नवराज थापालाई प्रहरी नायब उपरीक्षक सिंहको कार्यकक्षबाटै पक्राउ गरिएको छ ।
उनीहरुले बाँकेबाट दाङ हुँदै काठमाण्डौं र भारततर्फ गोरु तस्करीको सहजताका लागि घुस दिन खोजेको प्रहरीको दावी छ । कोहलपुर गोरु तस्करी हुने मुख्य नाकाको रुपमा परिचित छ ।
नेपालगन्जमा पुगेर बाँके र बर्दियाका प्रहरी अधिकारीहरुलाई नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनालले प्रहरीलाई प्रलोभनमा पारेर रकम दिन खोज्नेलाई पक्राउ गरेर मुद्वा चलाउन निर्देशन दिएको पछिल्लो दिन यो घटना घटेकोछ ।
उनीहरुलाई नियन्त्रणमा लिई हिरासतमा राखिएको ईलाका प्रहरी कार्यालयले जनाएकोछ । उनीहरुलाई सार्वजनिक अपराधको अभियोगमा मुद्धा चलाईने प्रहरीले जनाएकोछ ।
सिधै प्रहरी कार्यालयमा आई घुस दिएर प्रलोभनमा पार्न खोज्नु अपराध भएकाले उनीहरुलाई कार्वाहीको दायरामा ल्याएको प्रहरी नायव उपरिक्षक सिंहले बताए । यसरी घुस दिन आउनेबाट घुस नलिई पक्राउ गर्ने कार्य प्रहरीबाट भएपछि प्रहरीको चौतर्फिक रुपमा प्रशंसा गरिएकोछ ।