काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आइतबार सम्पन्न खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले बिग्रेड ब्वाईज क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो । मच्छिन्द्रका लागि विमल घर्ती मगरले दुई तथा रेजिन सुब्बा र अभिषेक रिजालले एक एक गोल गरे ।
ब्रिगेड ब्वाईजले मच्छिन्द्रलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने सकेन् । खेलको ५६औँ मिनेटमा मच्छिन्द्रका खेलाडी विमलले गोल गरे । उनले रेजिन सुब्बाले उपलब्ध गराएको बलमा हेडमार्फत गोल गरेका थिए । त्यस्तै खेलको ६२औँ मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ८४औँ मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रको अग्रता तेब्बर बनाए । उनले विमलको पासमा गोल गरेका थिए ।
खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अभिषेकले गोल गर्दै मच्छिन्द्रलाई ४–० गोलको जित दिलाए । जितसँगै शीर्ष स्थानमा रहेको मच्छिन्द्रको नौ खेलबाट २३ अङ्क पुगेको छ । मच्छिन्द्रले दोस्रो स्थानको मनाङलाई चार अङ्कले पछि पारेको छ । मनाङको १९ अङ्क छ । ब्रिगेड ब्वाइज अङ्क तालिकाको १२औँ स्थानमा छ ।
च्यासलका १९ खेलाडीमा कोरोना
च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना देखिएसँगै आज हुने भनिएको शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको नेपाल पुलिस क्लब र च्यासलबीचको खेल स्थगित भएको छ । च्यासलले आङ्खना १९ खेलाडीमा कोरोना देखिएपछि पुलिसविरुद्धको खेल स्थगित गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँग प्रस्ताव गरेको थियो । सोही प्रस्तावका आधारमा एन्फा लिग कमिटीले मेडिकल कमिटीसँग सल्लाह गरी खेल स्थगितको निर्णय गरेको हो ।
यसअघि च्यासल र पुलिसबीचको खेल आइतबार दिउँसो ४ः४५ बजे हुने तय भएको थियो । सो खेलको नयाँ मिति चाँडै तय गरिने एन्फाले जनाएको छ । लिगअन्तर्गत नवौं चरणको अन्तिम खेल जावालखेल युथ क्लब र एनआरटीबीच पूर्वनिर्धारित समयअनुसार नै हुने छ । पुलिस आठ खेलबाट सात अङ्क जोड्दै ११औँ स्थानमा तथा सात खेल नै खेलको च्यासल पाँच अङ्कका साथ १३औँ स्थानमा छ ।