काठमाडौं– सडकमा छाडा छोडिएका गाई–बाच्छा तथा पशुपतिमा डामेर छोडिने साढेंको व्यवस्थापनका लागि छुट्याइएको स्थान हिलाम्ये हुँदा त्यहाँ राखिएका जनावरको दिन कष्टकर बनेको छ । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको १२ रोपनी क्षेत्रमा गाईबाच्छा र साढेंलाई राख्दै आएको छ । व्यवस्थित गोठको अभावमा हिलो र वर्षात्को पानीका कारण त्यहाँ राखिएका एकसय ५३ वटा जनावर निथ्रुक्क भिजेर हिलोमा बस्न बाध्य छन् ।
सडकमा पुगेका गाई बाच्छालाई सवारी साधनले ठक्कर दिने, कुकुरले टोक्ने, लड्नेलगायत दुर्घटना हुँदा विजोग अवस्थामा देखेपछि तिनको उद्धारमा अभियन्ता आरबी न्यौपाने जुटेको करिब १५ वर्ष भएको छ । न्यौपानेलाई मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान–०७१ मार्फत बेवारिसे जनावरको आश्रयस्थलका लागि सो क्षेत्र पशुपति विकास कोषले उपलब्ध गराएको हो । अध्यक्ष न्यौपानेले भने, ‘औषधीय गुणयुक्त दूध, गहुँत, गोबर दिने गाईको संरक्षण, सुरक्षित बासस्थानको व्यवस्थापनमा सरकारको सहयोग पाइन, सडकबाट त उद्धार गर्छु तर गोठ नै बनाउन नसक्दा पानी र हिलोमै यिनलाई राख्नुपर्ने बाध्यता छ ।’ उनले सहयोगी, शुभचिन्तककै दान, दातव्यबाट हालसम्म खाना, पानी, औषधि उपचार त गर्दै आएको जानकारी दिँदै भने, ‘एउटा गोठमा सबै गाइबाच्छा र साढें नअटाएको कारण हिलो/पानीमा रूझेको हेरिरहनु परेको छ ।’
संस्थागत रूपमा काम गर्नुअघि उनले सात/आठ वर्षसम्म सडकमा बेवारिसे अवस्थामा छाडिएका गाई, बाच्छाको उपचार र खाना खुवाउने गर्दथे । देख्नेहरूले सहयोग गर्नुको साटो आफूलाई ‘पागल’ भन्ने गरेको उनी स्मरण गर्दछन् । तर, त्यो इच्छालाई अभियानको रूपमा अगाडि बढाएको उनको भनाइ छ । व्यवसायको नाममा कागज झोलामा बोक्नेले सहयोग/अनुदान पाउने प्रवृत्तिले आफूलगायत सोझा किसानले सरकारको कार्यक्रमबाट लाभ लिन नसकेको अध्यक्ष न्यौपानेको बुझाइ छ । सरकारले ‘गोठ सुधार कार्यक्रम’ सार्वजनिक गरेको समाचारमा सुनेको, तर त्यो सुविधा/अनुदान लिने प्रक्रियामा लाग्दा/लाग्दा थाकेको बताएका छन् । अभियन्ता न्यौपानेले स्थानीय सरकार प्रमुखले तोक नै लगाएको पत्रलाई प्रसाशनमा बस्नेले नटेर्ने, फाइल गायब गर्ने सरकारी कर्मचारीको बद्मासीका कारण आङ्खनो अभियानले सहयोग नपाएको गुनासो गरे ।
गाईलाई दूध आउन्जेल पाल्ने, अशक्त भएपछि सडकमा छोड्ने, बाच्छा, बाच्छीलाई जन्मेको केही दिनमै छाडा छोड्ने किसानलाई शक्त कारबाही नगरेसम्म छाडा गाईको समस्या रहिरहने उनको भनाइ छ । अभियानले एउटा गाईका लागि दिनको २० रूपैयाँ छुट्याएर वार्षिक सात हजार दुईसय रूपियाँ दिए किसानले घरमा राख्न नसकेका गाईलाई पाल्ने योजना ल्याएको छ । भने, त्यही भएका गाईका लागि सहयोग दिन चाहनेले पनि रकम दान दिने गरेका छन् । सहयोगी मनहरूले दिएको पिठो, चनालगायत र आर्थिक सहयोगको भरमा त्यहाँ राखिएका गाई, बाच्छा, साढेंलाई दाना, पानीको व्यवस्था हुँदै आएको छ ।
गाईको अन्त्येष्टिका लागि ठाउँ अभाव
व्यवस्थित गोठको अभावमा विजोग गाई, बाच्छा, साढें मरे त्यसको अन्त्येष्टिका लागि ठाउँको अभाव छ । गाई मरे रातारात पन्ध्र किलोमिटरसम्म टाढा पु¥याएर गाड्नुपर्ने बाध्यता छ । मानिसका लागि हरेक समुदायका लागि घाट बन्छन्, गाई, बाच्छा साढें मरे अन्त्येष्टि गर्ने ठाउँ नहुँदा १५ देखि २० हजारसम्म खर्च गरेर दुःख पाउनुपरेको न्यौपानेले बताए ।
‘छाडा पशुपक्षीका लागि राज्यले छुट्टयाएको रकम कहाँ जान्छ’ भन्ने प्रश्न गर्दै अध्यक्ष न्यौपानेले उपचार खर्च त्यत्तिकै महँगो भएको र कतिपय अवस्थामा एउटै वयस्क गाईलाई ८० हजारदेखि एक लाख रूपियाँसम्म उपचार खर्च लाग्ने बताएका छन् । काठमाडौं र काभ्रेका बेथानचोक र नमोबुद्धमा पनि अभियानले छाडा गाईको संरक्षणका लागि गौशाला सञ्चालन गरिरहेका छ । काठमाडौंमा १४ जना र काभ्रेमा ७ जना सहयोगीहरू कार्यरत रहेका छन् । गौशालाका गाईका दूध, गोबर र गहुँत पुजालगायत धार्मिक संस्कारका लागि लिन आउँछन् । ति सामग्री लिन आउने दान पेटिकामा रकम राखेर लैजाने गरेका छन् ।
– प्रशिक्षार्थी पत्रकार