काठमाडौं – एएफसी कप छनोट–२०२२ प्ले अफको पहिलो खेलमा नेपालको मच्छिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टारविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) को तालिका अनुसार मच्छिन्द्रले ब्लु स्टारलाई प्रतिद्वन्दी पाएको हो । दक्षिण एसिया क्षेत्रमा रहेको मच्छिन्द्र र ब्लु स्टारबीचको खेल आगामी अप्रिल ५ मा हुनेछ । खेल दशरथ रंगशालामा हुनेछ ।
यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । जुन खेल अप्रिल १२ मा हुनेछ । मच्छिन्द्र जारी सहिद स्मारक ’ए’ डिभिजन लिगको सातौं चरणसम्म लिगको शीर्ष स्थानमा रहदै एएफसी कपमा छनोट भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातौं चरणको शीर्ष टोलीले एएफसी कप छनोट खेलाउन एसियाली फुटबल महासंघ (एएफसी) लाई प्रस्ताव गरेको थियो । जस अनुसार मच्छिन्द्र छनोट भएको हो ।
मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मच्छिन्द्रले छनोटको मौका गुमाएको थियो । यस पटक भने मच्छिन्द्रले क्लब लाइसेन्स प्राप्त गरिसकेको छ । मच्छिन्द्रसहित मनाङ, त्रिभुवन आर्मी र एपीएफले क्लब लाइसेन्स पाएको छ । अघिल्लो पटक मच्छिन्द्रको स्थानमा उपविजेता बनेको आर्मीले एएफसी कप खेलेको थियो ।