काठमाडौं — बलिउड अभिनेता धनुष र उनकी पत्नी ऐश्वर्याले आफूहरू अलग हुने फैसला गरेका छन् । दक्षिण भारतीयका साथै बलिउड फिल्ममा समेत राम्रा अभिनेता मानिने धनुषले सामाजिक सञ्जालमार्फत ऐश्वर्यासँग आङ्खनो वैवाहिक सम्बन्ध टुंग्याएको जानकारी दिएका हुन् ।
धनुषकी पत्नी ऐश्वर्या चर्चित अभिनेता रजनीकान्तकी छोरी हुन् । उनीहरूको करिब १८ वर्षअघि विवाह भएको थियो । उनीहरूका १२ र १६ वर्षका दुई छोरा छन् । धनुषले ट्विटरमा लामो नोट राख्दै आफूहरूले अलग हुने फैसला गरेको बताएका छन् । उनले लेखेका छन्, ‘हामी एक साथी, एक जोडी र आमा–बुवाका रूपमा पछिल्ला १८ वर्षदेखि साथ रह्यौँ । हामी एकअर्काका शुभचिन्तक हौँ । यो यात्रामा हामीले एकअर्कालाई बुझ्यौँ, समझदारी अपनायौँ । आज हामी त्यहाँ आइपुगेका छौँ, जहाँबाट हाम्रो बाटो अलग हुँदैछ । ऐश्वर्या र मैले अलग हुने फैसला गरेका छौँ ।’
साथै, धुनषले आफूहरूकोे फैसलालाई सम्मान गरिदिनसमेत अनुरोध गरको छन् । अभिनेता रजनीकान्तकी जेठी छोरी ऐश्वर्याले पनि यही पोस्ट आङ्खनो इन्स्टाग्राममा सेयर गर्दै लेखेकी छन्, ‘कुनै क्याप्सनको आवश्यकता छैन । मात्र तपाईंको समझदारी र प्रेम आवश्यक छ ।’ धनुष र ऐश्वर्याको निर्णयलाई लिएर उनीहरूका अधिकांश फ्यान तथा प्रशंसकले दुःख मानेका छन् । उनीहरूले प्रश्न गरेका छन्, ‘हामी तपाइँहरूको दाम्पत्य जीवनलाई आजका दिनसम्म ‘गुड कपल’का रूपमा लिएका थियौँ, तर अचानक तपाइँका स्टाटसले हामीलाई सक्ड बनाएको छ ।’
उनीहरूको बिहे हुँदा धनुष २१ वर्षका मात्र थिए भने र ऐश्वर्या २३ वर्षकी थिइन् । धनुष अभिनयका साथै निर्देशन र निर्माणमा पनि सक्रिय छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनले अहिलेसम्म ४६ फिल्मका काम गरिसकेका छन् ।