काठमाडौं – प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्बल र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्ने भएका छन् । मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । जितका लागि १५६ रनको लक्ष्य पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै १०५ रन मात्र बनाउन सक्यो ।
बागमतीका लागि आदिल खानले सर्वाधिक २७ रनको योगदान गरे । उनले ३३ बल खेल्दै तीन चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा २३ रन जोड्दा चार चौका हााने । रामनरेश गिरी २२ रनमा अविजित रहे । बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरीले पाँच, सागर ढकालले दुई तथा आरिफ शेखले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले पाँच विकेट गुमाएर १५५ रन जोड्यो । पुलिसका लागि ओपनर पवन सर्राफले अर्धशतकीय पारी खेले । उनले ५४ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ५९ रनको योगदान दिए । दिलिप नाथले ३१ तथा अनिल साहले २५ रन बनाए । बलिङतर्फ बागमतीका नन्दन यादव र रिजन ढकालले दुई–दुई र प्रतिस जिसीले एक विकेट लिए ।
त्यस्तै मंगलबार नै अर्को खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । जितका लागि २३१ रनको लक्ष्य पाएको आर्मीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै १८३ रन मात्र बनाउन सक्यो । आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ३८ रनको योगदान गरे । उनले २१ बल खेल्दै एक छक्का र चार चौका प्रहार गरे । भीम सार्कीले ३५, सुमित श्रेष्ठले २४, हरि चौहानले २२, शाहव आलमले अविजित २१ तथा विक्रम शोबले १४ रन बनाए । बलिङतर्फ एपीएफका शरद् भेष्वाकरले तीन, अभिनाश बोहरा र भुवन कार्कीले दुई तथा दिपक बोहरार र किशोर महतोले एक एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले दुई विकेट गुमाएर २३० रन जोड्यो । एपीएफका लागि ओपनर आशिफ शेखले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा पाँच छक्का र १० चौकाको मद्दतमा ८४ रनको योगदान दिए । यस्तै लोकेश बमले अविजित ६६ तथा ओपनर प्रदीप ऐरीले अविजित ५७ रन बनाए । बलिङतर्फ आर्मीका जितेन्द्र मुखिया र सुमित श्रेष्ठले एक–एक विकेट लिए । फाइनल खेल एपीएफले नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिसले आजै सम्पन्न पहिलो सेमिफाइनल खेलमा बागमतीलाई हराउँदै फाइनलमा स्थान बनाएको हो