काठमाडौं – रोशन कुमारको निर्देशनमा नेपाली फिल्म ‘मीरा’ निर्माण हुने भएको छ । उक्त फिल्मको काठमाडौंको गुहेश्वरी मन्दिर परिसरमा शुभमुहुर्त गरिएको छ । सरकारले निर्धारण गरेको २५ जनाभन्दा बढी मानिस भेला नहुने मापदण्डलाई पालना गर्दै शुभमुहुर्त गरिएको फिल्म निर्माण संस्थाले जनाएको छ ।
द लाइफ एक्सप्रेस मुभि मेकर्स प्रालि तथा मझारे ईन्टरटेन्मेन्टले संयुक्त रूपमा निर्माण गर्ने उक्त फिल्म शुभमुहुर्त समारोहमा फिल्मका मुख्य कलाकार रमेश क्षेत्री तथा रजिना अर्यालले मुहुर्तशटमा अभिनय गरेका थिए । चलचित्रकर्मी कृष्ण मल्लद्वारा निर्देशन गरिएको मुहुर्त शटमा फिल्मका मुख्य कलाकारले फिल्मकै संवाद बोलेका थिए ।
लेखक सुशील देवकोटाले नरिवल फुटाएर शुभसाइत शटको थालनी गराएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै फिल्मका निर्देशक रोशन कुमारले मीरा नारीप्रधान फिल्म हुने जानकारी दिए । उनका अनुसार फिल्ममा बलात्कार जस्तो निन्दनीय घटनालाई हतात्साहित गर्ने कथावस्तु समेटिएको छ । फिल्ममा रजिना अर्यालले मीराको चरित्र चित्रण गर्दैछिन् । उनको यो डेब्यू फिल्म हो ।
फिल्मका अभिनेता रमेश क्षेत्रीले फिल्मले एउटी कमजोरी आर्थिक अवस्था भएकी महिलाको सरकारी जागिर खाने सपना र त्यसलाई पूरा गर्ने क्रममा उनले भोग्नु परेका पीडालाई फिल्मले समेट्ने बताए । फिल्ममा रजिना अर्याल र रमेश क्षेत्रीसँगै प्रेम बस्याल, रविना केसी, महेश धामी क्षेत्रीलगायतले कलाकारले अभिनय गर्दैछन् । गोपाल कार्की तथा आरोही श्रेष्ठ यो फिल्मका निर्माता हुन् । स्वास्थ्य मापदण्ड पालना गर्दै केही दिनमै ङ्खलोरमा जाने यो फिल्म आगामी नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा ल्याइने निर्देशक रोशन कुमारले जानकारी दिएका छन् ।