काठमाडौं – नेपालकी बक्सिङ खेलाडी सुष्मा तामाङले उज्वेकिस्तानमा आयोजना हुने एएसबीसी यू–२२ महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिप गुमाउने भएकी छिन् । उज्वेकिस्तान प्रस्थान गर्नु अघि कोभिड–१९ को संक्रमण देखिएपछि सुष्माले च्याम्पियनसिप गुमाउने भएकी हुन् । नेपाल बक्सिङ संघले सुष्मालाई कोभिड–१९ पोजेटिभ देखिएकोले प्रतियोगितामा सहभागिता नजनाउने जनाएको छ ।
‘एएसबीसी यू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन छनोट हुन सफल एक मात्र महिला खेलाडी शुष्मा तामाङ उडान पूर्व मंगलबार राती पीसीआर परिक्षणमा कोभिड– १९ पोजेटिभ रिपोर्ट देखिएकोले उनी तास्कन्ट प्रस्थान गर्न पाईनन् र जस्को कारण उक्त प्रतियोगितामा नेपालको सहभागीता हुने छैन,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संघले सुष्माको स्वास्थ सामान्य रहेको र उनीमा कोभिड –१९ को कुनै पनि लक्षण नदेखिएको जनाएको छ । संघले सुष्मासँग उज्वेकिस्तान जाने प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र प्रशिक्षक नविन तण्डुकारको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । तास्कन्त शहरमा आयोजना हुने च्याम्पियनसिपमा सुष्माले ४८ केजी तौल समूहमुनि प्रतिस्पर्धा गर्ने तालिका थियो ।