काठमाडौं - आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार १६ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट १६ सदस्सीय टोली छनोट गरेका हुन् । घोषणा गरेको टोलीमा युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन् । यस्तै शरद भेषवाकर, प्रदिप ऐरी र जितेन्द्र मुखियाले ३ वर्ष पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । त्यस्तै नियमित सदस्यका रुपमा रहेको विकेट किपर विनोद भण्डारी, तिव्रगतिका बलर सोमपाल कामी, रोहित कुमार पौडेल लगायत खेलाडी भने टिममा पर्न असफल भएका छन् ।
विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुदैछ । छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्याण्ड र जर्मनी रहेका छन् । यस समूहबाट शीर्ष दुई टोली यसै वर्ष अष्ट्रेलियामा आयोजना हुने विश्वकपका लागि छनोट हुनेछन् ।
यस्तो छ नेपाली टिम – सन्दीप लामिछाने (कप्तान) कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र कुमार मुखिया, विवेक यादव र लोकेश बम ।