काठमाडौं — नेपाली चलचित्र ‘नोभेम्बर रेन’की अभिनेत्री छुल्ठिम गुरुङ भन्छिन्, ‘राम्रो चिज जहिले सिंगल हुन्छ ।’ गायक धिरज राईसँगको वैवाहिक जीवन टुंगिएपछि छुल्ठिम सिंगल छिन् । धिरजसँग डिभोर्स गरेपछि नै उनी फिल्म क्षेत्रमा आएकी छन् । त्यसअघि उनले केही म्युजिक भिडियोमा मोडलिङ गरेकी थिइन् । फिल्ममा काम गरेपछि उनी ‘डल्ली’ उपनामबाट समेत चर्चित भइन् । यो चलचित्रमा उनले निर्वाह गरेको भूमिकाले दर्शक र समीक्षकबाट प्रशंसा पाएको थियो ।
छुल्ठिम यतिबेला दुबई पुगेकी छन् । दुबई पुगेर उनले आफूलाई चन्द्रमासँग तुलना गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘राम्रो चिज जहिले सिंगल नै हुन्छ । जस्तै कि, आकाशको चन्द्र र धर्तीको म ।’
छुल्ठिम चलचित्र क्षेत्रमा जम्ने धेरैको विश्वास थियो । तर, उनले सोचेजस्तो भएन । अर्को चलचित्र ‘डायरी’पछि छुल्ठिमको करिअर उकालो लाग्न सकेन । यसपछि केही चलचित्रमा काम गर्नुबाहेक उनको करिअरमा त्यस्तो सुखद् पक्ष केही पनि छैन । छुल्ठिमले चलचित्र र म्युजिक भिडियोमा फाट्टफुट्ट काम गरेपनि उनको करिअरमा कुनै फाइदा भएको छैन ।