काठमाडौं – नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका लघुफिल्म प्रतियोगिताबाट २० फिल्म छनोट गरेको छ । निर्देशक समाजका महासचिव जनकदीप पराजुलीका अनुसार ६ सदस्यीय निर्णायक समूहले जातीयविभेद र उन्मुलनको उपायलाई कलात्मक रूपमा अभिव्यक्त गर्ने २० फिल्मलाई प्रारम्भिक चरणमा छनोट गरेको हो ।
निर्देशक समाज र युनडीपीले जातीयप्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्ने गरी केही समयअघि सूचना प्रकाशित गरिएको थियो । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सह–सचिव फणिन्द्र गौतम, वरिष्ठ निर्माता÷निर्देशक तथा कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडिपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल सम्मिलित निर्णायक मण्डलले प्राप्त फिल्मबाट २० फिल्म छानेका हुन् ।
छनोट भएका फिल्महरू अबको दुई हप्ता दर्शकको अवलोकनका लागि विभिन्न सामाजिक सञ्जालमा राखिनेछन् । यहाँ फिल्मले पाउने दर्शक तथा प्रतिक्रिया एवम् निर्णायकको निर्णयका आधारमा विजेता फिल्मको घोषणा गरिनेछ । दर्शकले दिने प्रतिक्रियाको अंकभार ५० प्रतिशत रहनेछ भने ५० प्रतिशत निर्णयमा निर्णायकको हात रहनेछ ।