काठमाडौं – नेपाल एपिएफ क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरास्थित पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपिएफ अन्तिम आठमा प्रवेश गरेको हो ।
सातदोबाटो युथ क्लबका ५ खेलाडी लिएर प्रतियोगितामा उत्रिएको आयोजक टिम उद्घाटन खेलमै पराजित बनेको छ । एपिएफका लागि आभाष लामिछाने र प्रदीप लामाले एक–एक गोल गरे ।
आभाषले पहिलो हाफमा एपिएफलाई अग्रता दिलाएका थिए । आभाषले खेलको १४औँ मिनेटमा गोल गर्दै विभागीय टोलीलाई अग्रता दिलाएका थिए । प्रदिपले भने ६०औँ मिनेटमा एपीएफको अग्रता दोब्बर बनाए । एपिएफले अब माघ ८ गते अमेरिकाको बिवाइएससी मिनेसोटाविरुद्ध खेल्नेछ । प्रतियोगिताअन्तर्गत शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।