काठमाडौं – विन्टर ओलम्पिकमा नेपालको सहभागिता नहुने भएको छ । चीनमा अर्को महिना सुरु हुने विन्टर ओलम्पिकमा नेपालबाट सहभागिता नहुने पक्का भएको हो । छनोट र कोटामा समेत खेलाडी पर्न नसकेपछि चीनले पहिलोपटक आयोजना गर्न लागेको विन्टर ओलम्पिकमा नेपालको सहभागिता नहुने भएको हो ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चतुरानन्द वैद्यले विन्टर ओलम्पिकमा नेपालको सहभागिता नरहने पुष्टि गरे ।
‘यसपटक कोटा पनि पाएनौँ । कोभिडका कारण खेलाडीले छनोट खेलसमेत पूरा गर्न पाएनन् ।’ उनले भने, ‘खेलाडी सहभागी नहुने भएपछि नेपालको सहभागिता नहुने भएको हो ।’
खेलाडी सहभागी नहुने भएपछि विन्टर ओलम्पिकमा सम्बन्धित देशका पदाधिकारी समेत सहभागी हुन पाउदैनन् । सोही कारण यस वर्षको विन्टर ओलम्पिकमा नेपालको सहभागिता शुन्य देखिने भएको हो । ‘विन्टर ओलम्पिकमा छनोट नै पार गरेर जानुपर्छ । छनोटमा अंक बटुलेका केही खेलाडी कोटामा समेत पर्न सक्छन् । तर, यस पटक खेलाडीले तय भएका खेल समेत खेल्न पाएनन् ।’ वैद्यले भने ।
विन्टर ओलम्पिक युरोपका देशको चर्को प्रतिस्पर्धा हुने गर्छ । पूर्वाधार र प्रतियोगिताको अभावमा विन्टर प्रतियोगिता नेपालमा खासै हुँदैनन् । गत आईतबारसम्म प्रतियोगितामा खेलाडी दर्ताको समय निर्धारण गरेको थियो । एनओसीले कोटामार्फत खेलाडी सहभागीताको प्रयास गरेको थियो । यस वर्षको विन्टर ओलम्पिक फेब्रुअरी ४ देखि २० सम्म चीनको बेईजिङमा सञ्चालन हुदैछ । चीनले पहिलो पटक विन्टर ओलम्पिक आयोजना गर्न लागेको हो ।
सन् २०१५ मा मलेशियाको क्वालाम्पुरमा बसेको आइओसीको १ सय २८औँ बैठकले बेइजिङले प्रतियोगिता आयोजना गर्ने निश्चित गरेको थियो । समर र विन्टर ओलम्पिक आयोजना गर्ने बेइजिङ विश्वको पहिलो सहर बनेको छ ।