सबै तहबाट भिजिट भिसाको दुरूपयोग रोकिनुपर्छ । भिजिट भिसाको नाममा केही व्यक्तिहरूबाट अवैध कार्य गर्दै आइएको छ । यस्तो अवस्थामा सरकारी तहले पनि भिजिट भिसा वितरण गर्दा अत्यन्तै कडाइ गर्नुपर्ने भएको छ । भिजिट भिसा दुरूपयोग गरेर लाखौँ नेपाली नागरिकहरूले तेस्रो मुलुकमा पीडा भोग्नु परेको छ । यस्तो अवस्थाको सिर्जना गर्ने कार्य स्वयं सरकार पनि हो । हुन त मानव तस्करहरूको चलखेलमा व्यक्ति बेच बिखन गर्ने काम भइरहेको छ । यस्तो कार्यमा भिजिट भिसाको धेरै प्रयोग भइरहेको छ । तर, यस्तो गलत काम गर्नु हु“दैन भनेर सचेतना कार्यक्रमको आयोजना गर्नु आवश्यक देखिएको छ । मानव बेचबिखन कार्यलाई प्रोत्साहन गर्नै हुँदैन । कोही कसैबाट यस्तो भएको पाइएमा यसलाई दुरुत्साहन गर्नु पर्छ ।
भिजिट भिसामा गएर त्यसको दुरूपयोग गर्नेहरूमाथि कडा निगरानी राख्न पनि आवश्यक भइसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्नु पर्ने भएको छ । वैदेशिक रोजगारीमा गएकाहरू ठगीको चपेटामा पर्ने गरेकाले उनीहरूको उद्दारमा पनि सरकारले गम्भीरतापूर्वक लाग्नुपर्ने बेला आइसकेको छ । कोभिड संकटको चपेटामा परेका आफ्ना नागरिकहरूलाई विदेशी भूमिमा काम गर्ने क्रममा समस्या नआओस् भन्नेमा सरकार गम्भीर रहनुपर्छ । भिजिट भिसामा गएकाहरूले त्यहाँ श्रमिकको रूपमा काम गर्न थालेका छन् । त्यो पनि समस्या हो । अर्को कामका लागि गएका तर काम नपाएकाहरूको पनि समस्या छ । यस विषयमा श्रममन्त्रीले मन्त्रिपरिषद्मा कुरा राख्न सक्नुपर्छ । यो समस्यालाई सल्टाउन नेपाल सरकार गम्भीर बन्नुपर्ने बेला भइसकेको छ ।
भिजिट भिसालाई अन्य प्रयोजनमा दुरूपयोग नगरून् भन्नेतर्फ राज्य सधैँ सचेत हुनुपर्छ । त्यसपछि एयरपोर्टमा भएको मालसामान ओसारपसारको कामलाई व्यवस्थापन गर्ने हो । यसमा नेपाल सरकार गृह मन्त्रालय लागिपरेको भनिए पनि वैदेशिक रोजगारमा दुःख गरेर कमाएर ल्याएको केही सामानमाथि पनि विमानस्थलका कर्मचारीको लोभी नजरले नछाड्दा उनीहरू रुनु न हाँस्नु भएका छन् । वैदेशिक रोजगारमा गएका नेपालीहरूमाथि बिचौलियाहरूले ठगी गरेको कोही कसैबाट छिप्दैन तर उनीहरूमाथि कारबाही हुन नसक्दा उनीहरूको मनोबल नै उच्च देखिन्छ । यसैबीच, युएईमा घरेलु कामदार महिलाहरूको समस्या ठूलो छ । ती समस्या समाधानका लागि पनि गृह मन्त्रालयको सहयोग आवश्यक रहेको देखिन्छ । यत्ति मात्र होइन, व्यक्तिगत श्रम स्विकृति लिएर गएका नेपालीहरूको पनि ठूलो पीडा छ । ती समस्या समाधानका लागि गृह मन्त्रालयले छुट्टै प्रहरी युनिट परिचालन गर्नुपर्ने अवस्था छ । श्रम मन्त्रालय एक्लैको प्रयासबाट मात्रै विदेशमा पीडा भोगिरहेका नेपाली नागरिकको समस्या समाधान गर्ने अवस्था छैन । यसका लागि सरोकारवालाहरूको चनाखोपन पनि आवश्यक देखिन्छ । तर, भिजिट भिसाका नाममा विदेश गएर वैदेशिक रोजगारमा अल्झिने काम भइरहँदा यसबाट स्वयं व्यक्त पनि कुनै न कुनै दिन समस्यामा आउन बेर छैन ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८ ०६:०८