काठमाडौं– सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी जेठ मसान्तसम्ममा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । शनिबार दुईपटक बसेको सत्ता गठबन्धनमा सहभागी दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालका शीर्ष नेताहरूको बैठकले आगामी जेठ मसान्तभित्र गर्ने गरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको हो ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । उनका अनुसार अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ । ‘उच्चस्तरीय राजनीतिक संयन्त्रले प्रधानमन्त्रीमार्फत् सरकारलाई सुझाव दिएको छ । संविधानअनुसार कानुनमा संशोधन गर्नुपर्ने भए त्यो तयार गर्न पनि सुझाव दिएको छ । अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तोक्नेछ,’ उनले भने ।
बैठकले स्थानीय तह निर्वाचन ऐन ०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको मन्त्री कार्कीले जानकारी दिएका छन् ।
आगामी ५ जेठमा स्थानीय तहका जनप्रतिनिधिहरूको पदाविधि सकिँदैछ । नेपालको संविधान ०७२ र निर्वाचन सम्बन्धी ऐनमा स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि सकिनु दुई महिना अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सोहीअनुसार निर्वाचन आयोगले पहिलोपटक आगामी चैत पहिलो साता निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो । तर, उक्त अवधिमा निर्वाचन गर्नका लागि सरकारले मिति घोषणा नगरेपछि आयोगले पुनः आगामी १४ र २२ वैशाखमा निर्वाचन गर्न मिति प्रस्ताव गरेको छ । तर, सरकारले हालसम्म निर्वाचनको मिति घोषणा गरेको छैन । उक्त मितिमा निर्वाचन गर्नका लागि हालसम्म घोषणा नभएकाले गा¥हो हुने देखिएको छ ।
निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा सरकारले घोषणा गर्ने प्रावधान छ । तर, सत्ता गठबन्धनमा सहभागी दलहरूबीच निर्वाचनको विषयमा एक मत हुननसक्दा हालसम्म मिति घोषणा भएको छैन । यसअघि कांग्रेस आगामी बैशाखमै निर्वाचन गर्नुपर्ने पक्षमा देखिएको थियो । तर, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू निर्वाचन अर्को वर्षको चैतमा मात्र हुनुपर्ने अडानमा देखिएका थिए ।