मोरङ – प्रदेश न १ मा पछिल्लो २४ घण्टामा ३ सय ९७ जना कोरोना संक्रमित भएका छन् । मन्त्रालयले प्रदेशका विभिन्न प्रयोगशालामा ३ सय ९४ जनाको पिसिआर परीक्षणमा १ सय ४५ र ७ सय ८९ जनाको एन्टिजेन परीक्षणमा २ सय ५२ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार पिसिआर परीक्षणका क्रममा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा समान ५, उदयपुर, संखुवासभा र पाँचथरमा समान १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण भएको हो ।
मोरङको विराटनगरमा ६५, बुढीगंगामा ५, सुन्दरहरैचामा ३, ग्रामथानमा २, पथरीशनिश्चरे, रंगेली, उर्लाबारी, रतुवामाई, बेलबारी, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेकामा समान १ जनामा संक्रमण देखिएको छ । सुनसरीको धरानमा २५, इटहरीमा १२, इनरुवामा ३, दुहवी र बराहक्षेत्रमा समान १ जनामा संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित कास्कीमा थपिएका छन् ।
प्रदेशअन्तर्गत विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको एन्टिजेन र पिसीआर परीक्षणमा कास्कीमा २२७ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार यस अवधिमा प्रदेशमा कूल ५१६ संक्रमित थपिएकामा तनहुँमा ७१, म्याग्दीमा ४९, स्याङ्जा र बागलुङमा ३९–३९, नवलपरासी पूर्वमा ३८, लम्जुङमा २५, पर्वतमा १५ र गोरखामा १३ जना छन् । त्यसैगरी, धनकुटाको धनकुटा नगरपालिकामा ५, झापाको कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४, संखुवासभा, पाँचथर र उदयपुरको बेलकामा समान १ र प्रदेश १ बाहिरका ७ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै नेपालगञ्जमा शनिबार जिल्लाका तीन वटा ल्याबमा गरिएको परीक्षणमा ७७ जना संक्रमित थपिएका छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा ५६ मा ३० जना, कोहलपुर मेडिकल कलेजमा ५१ मा ३३ जना र वागेश्वरी ल्याबमा २८ जनाको परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै धनुषामा ९८, काभ्रेपलाञ्चोकमा ११६, चितवनमा ११५, कास्कीमा ११५, बाँकेमा ७३, रूपन्देहीमा ८० तथा कैलालीमा १२० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं जिल्लामा सर्वाधिक १ हजार ४०४ जना संक्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ३०५ तथा भक्तपुरमा १११ जना संक्रमित थपिएका छन् ।