काठमाडौं — कोरोनाभाइरसको नयाँ भेरियन्ट अम्रिक्रोन फैलिएसँगै भारतका दैनिक साढे दुई लाखभन्दा बढी संक्रमित भइरहेका छन् । तर, यसले बलिउड फिल्म उद्योगलाई खाशै असर गरेको देखिँदैन किनकि बलिउडमा धमाधम फिल्म रिलिजको मिति तोकिँदै आएको छ ।
कोरोना महामारीका कारण झण्डै दुई वर्ष संसारकै मनोरञ्जन क्षेत्र ठप्प भएको थियो । एक किसिमले भन्ने हो भने त्यो समयमा फिल्म उद्योगहरू झण्डै ध्वस्त भएका थिए । जसमा बलिउड पनि अछुतो थिए । हालैमात्र जुर्मुराएको बलिउड उद्योगमा त्यसपछि धमाधम नयाँ फिल्महरू रिलिज गर्न थालिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
यसैक्रममा अभिनेत्री अलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ २५ फेब्रुअरीमा रिलिज हुने भएको छ । निर्देशक सञ्जयलीला भंसालीले शनिबार आफ्नो फिल्मको रिलिज मिति घोषणा गरेका हुन् । निर्देशक भंसालीको उक्त फिल्म जयन्तीलालसँग मिलेर बनाएका हुन् । यसअगाडि फिल्म जनवरी र त्यसपछि १८ फेब्रुअरी रिलिज मिति सार्वजनिक गरिएको थियो । तर, कोरोनाको तेस्रो लहरका कारण फिल्म फेरि सरेर २५ फेबु्रअरीको पुगेको हो । अब यो मिति नसर्ने निर्माण पक्षले जनाएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले समेत कोरोनाको तेस्रो लहर विस्तारै न्यून हुँदै जाने बताइसकेको छ । जसले गर्दा फिल्म क्षेत्रमात्र नभएर हरेक क्षेत्रमा उत्साह छाउन थालेको छ ।
फिल्ममा आलियाले माफिया क्वीन गंगुबाईको भूमिका निर्वाह गरेकी छन् । अलियाको अलवा फिल्ममा अजय देवगण, शान्तनु महेश्वरी, विजय राज, सीमा पहवा समेत मुख्य भूमिका रहेको छ । फिल्म हिन्दीको अलवा तेलुगू भाषामा पनि रिलिज हुने बताइएको छ ।