काठमाडौं — इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल–२०२२’मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन् ।
भुजेललाई ‘मिस इको इन्टरनेसनल नेपाल’को ताजसहित उक्त प्रतियोगिताका लागि ग्रिन आर्ट मिडियाले छानेको हो । भुजेलले यस अगाडि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केही सौन्दर्य प्रतियोगितामा सहभागी भएकी थिइन् ।
शनिबार स्ट्याण्ड लन्च एण्ड बार बत्तिसपुतलीमा आयोजित एक कार्यक्रमबीच ग्रिन आर्ट मिडियाले प्रतियोगी सार्वजनिक गरेको हो । भुजेललाई मिस इको इन्टरनेसनल नेपाल–२०२०’ विजेता अनुष्मा रायमाझीले ताज लगाई दिएकी हुन् । रायमाझीले ‘मिस इको इन्टरनेसनल २०२०’ मा ‘मिस इको एसिया’ उपाधि नेपाल ल्याउन सफल भएकी थिइन् ।
भुजेल आगामी मार्चमा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेसनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ६० बढी देशका इको सुन्दरीहरूको सहभागिता रहने प्रतियोगिताका लागि भुजेल नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् । अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, ग्रिन आर्ट मिडियाका सिइओ प्रविन लाकौललगायतको उपस्थिति रहेको कार्यक्रममा धुम्बाराही निवासी २६ वर्षीया भुजेलले प्रतियोगितामा नेपालका कल्चरल, सांस्कृतिक र पर्यटकीय स्थानको प्रचार गर्ने बताइन् । भुजेलले इजिप्टबाट ‘मिस इको इन्टरनेसनल–२०२२’ को शीर्ष उपाधि जित्न सक्ने विश्वास आफूलाई लागेको ग्रिन आर्ट मिडियाका सिइओ प्रविन लाकौलले बताए ।