काठमाडौं— नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको सम्झनामा २०६७ सालदेखि नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आइरहेको पुष्पलाल स्मृति र्याङ्गकिङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको ११औँ संस्करण आगामी फागुण ३ देखि ७ गतेसम्म आयोजना हुने भएको छ ।
नखिपोट, ललितपुरमा आयोजना हुने यस संस्करणमा नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल)ले प्रतियोगितालाई साथ दिँदै संयुक्त आयोजकको रूपमा आफूलाई उभ्याएको छ । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा संघसँग आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुसिल र नेपाल एपिएफ क्लब गरी ५० संस्थाका खेलाडीहरूले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा पुरुष एकल (राष्ट्रिय वरियतामा १६औँ स्थानमा रहेका), पुरुष एकल (१६औँ वरियतादेखि बाहेकका), पुरुष युगल (खुला), महिला एकल (राष्ट्रिय वरियतामा १२औँ स्थानमा रहेका), महिला एकल (१२औँ वरियतादेखि बाहेकका), महिला युगल (खुला), यु १७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ वर्षमाथि र मास्टर्स ५५ वर्षमाथि (खुला) गरी १० विधामा प्रतिस्पर्धा हुने संघका महासचिव सुनिल मान शाक्यले जानकारी गराएका छन् ।
कुल २१ लख ६० हजार लागत रहको प्रतियोगितामा पुरस्कारतर्फ ५ लाख ९८ हजार खर्च रहेको छ । लिग चरणको पुरुष एकल (राष्ट्रिय वरियतामा १६औँ स्थानमा रहेका) र महिला एकल (१२औँ स्थानमा रहेका) तर्फ प्रतिस्पर्धा गर्ने खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाएबापत नगद १५ सय प्राप्त गर्ने छन् । यस्तै लिग चरणमा बिजयी हुने प्रत्येक खेलाडीले थप १५ सय प्राप्त गर्ने छन् । यस्तै क्वाटरफाईनलमा विजयी हुने खेलाडीहरूले थप ८ हजार, सेमिफाइनलमा विजयी खेलाडीले थप १६ हजार प्राप्त गर्ने छन् । यसैगरी फाइनलमा विजयी खेलाडीले थप २० हजार र उपविजेता खेलाडीले थप ५ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
यस्तै अन्य विधामा पुरुष एकल (उच्च १६देखि बाहेक) र महिला एकल (उच्च १२ देखि बाहेक), पुरुष तथा महिला युगल, भेट्रान्स युगल ४५ वर्षमाथि र मास्टर्स युगल ५५ वर्ष माथिका विजयीले क्रमश प्रथमले २० हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार नगद प्राप्त गर्नेछन् । यु १७ पुरुष तथा महिला एकलतर्फ विजयीले क्रमशः प्रथमले १५ हजार, द्वितीयले ८ हजार र तृतीयले ४ हजार प्राप्त गर्नेछन् । यसका साथै विजयीहरूले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने महासचिव शाक्यले जनाए ।
खेलाडीहरूको बिहानको खानाको ब्यवस्था आयोजकले गर्ने समेत महासचिव शाक्यले जानकारी गराए ।
नेपालमा ब्याडमिन्टनको विकास र विस्तार गर्ने क्रममा खेलाडीहरूको बरियता निर्धारण गर्ने र सिमित मात्रामा भए पनि आर्थिक सहयोग होस भन्ने उद्धेश्यले प्रतियोगितामा सहभागिता जनाए बापत खेलाडीहरूले नगद प्राप्त गर्ने प्रावधानलाई प्रचलनमा ल्याउने राष्ट्रिय ब्याडमिन्टन संघ पहिलो संस्था हो ।