धरान — ‘द भ्वाइस किड्स नेपाल’को फाईनालिस्ट रुक्सना लिम्बुलाई धरानमा आयोजित एक कार्यक्रमबीच सम्मान गरिएको छ । कार्यक्रममा रुक्साना लिम्बु जिताऔँ अभियानका तर्फबाट संयोजक मिना सिंगक र सागर सरगम चेम्जोङले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा रुक्साना लिम्बु जिताऔं अभियान धरानले एक वटा गीत निर्माण गरिदिने घोषणा गरेको छ । उक्त गीतमा शब्द मीना सिंगक लिम्बू र संगीत सेमिहाङ सिगंकको हुने बताइएको छ । त्यस्तै, केन्द्र मोसन पिक्चर्सले दुई वटा म्युजिक भिडियो निर्माण गरिदिने घोषणा गरेको छ भने सिल्भर इन्टरटेन्मेन्ट र एपी शेर्पाको तर्फबाट एक वटा गीत निर्माण गरिदिने घोषणा गरिएको छ ।
साथै, चर्चित गायक राजेशपायल राईले आफ्नो म्युजिक एकेडेमी तथा राजेशपायल राई फाउन्डेसनको तर्फबाट दुई वटा गीत निर्माण गरिदिने घोषणा गरिएको थियो । जसमा राजेशपायल राईको समेत स्वर तथा संगीत रहने भएको छ । कार्यक्रममा बोल्दै रुक्सना लिम्बूकी आमा रेखा लावती लिम्बुले रुक्सनाको लागि धरानको टीमले ठुलो सहयोग गरेको बताइन् । उनले रुक्सनाको सांगीतिक भबिष्यको लागि समेत सबैसँग समन्वय गरि बिभिन्न अवसर प्रदान गरिदिएकोमा धन्यबाद दिइन् ।