झापा– प्रदेश नं १ मा झापा र मोरङ सबैभन्दा बढी कुष्ठरोगी भएको जिल्लाका रूपमा चिनिएका छन् । स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्यांकअनुसार १४ जिल्ला रहेको प्रदेशमा पहिलो झापा र दोस्रो स्थानमा मोरङ रहेका छन् ।
प्रदेशमा रहेका ३८५ जना नयाँ कुष्ठरोगीमध्ये झापामा १६४ र मोरङमा १०३ जना र सुनसरीमा २९ जना रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । अन्य जिल्लामा भने नगन्य रूपमा रहेका छन् । कार्यालयका कुष्ठरोग फोकल पर्सन तारादेवी सुवेदीले प्रति १० हजार जनसंख्यामा बिरामीको प्रकोप दर झापामा १ दशमलव ४२ र मोरङमा १ दशमलव २१ रहेको छ । यी दुवै जिल्ला उच्च जोखिममा रहेको उनको भनाइ छ ।
कुष्ठरोगलाई सन् २०३० सम्ममा शून्य बनाउने लक्ष्य लिएको उनले बताए । उनले कुष्ठरोगप्रतिको भ्रम र डरलाई हटाउन परिवार र समुदायमा रोगको बारेमा सही जानकारी दिने तथा प्रचारप्रसार गर्ने, बिरामीलाई नियमित उपचार गर्न सल्लाह दिने र उपचारको उपलव्धता बारेमा जानकारी गराउने, कुष्ठरोगको शंका लागेका बिरामीलाई स्वास्थ्य संस्थामा पठाई रोग निदान र उपचारमा सहयोग पुर्याउने, बिरामी र प्रभावितलाई आङ्खनो परिवार र समुदायमा भेदभाव हुन नदिन रोगबारेमा सत्यतथ्य जानकारी दिइने उनको भनाइ छ ।
उनले मानव अधिकारको सम्मान गरी भेदभाव हटाउने, कुष्ठरोगविरुद्धको विभेदकारी कानुनको उन्मूलन गर्न तीन तहको सरकारसँग पहल गर्ने जानकारी दिए । जनस्वास्थ्य कार्यालय झापाका तथ्यांक अधिकृत चुडामणि लुइँटेलले कुष्ठरोग सुरुवा रोग भएका कारण विशेषगरी बाक्लो बस्तीमा बस्ने तराईमूलका समुदाय, विपन्न परिवारमा बढी देखिने गरेको बताए ।
प्रदेश नम्बर १ का कुष्ठरोगीको पहिचान गरेर नियमित औषधि खुवाउने र जटिल समस्यामा भएमा धुनषा जिल्लाको लालगढ र काठमाडौं आनन्दवन अस्पताल उपचारका लागि पठाउने गरेको उनले जानकारी दिए ।