काडमाडौं – अभिनयमा अब्बल मानिन्छन् ध्रुबसिंह तामाङ । कलाकारिता क्षेत्रमा छिरिङ उपनामले चिनिने तामाङले धेरैजसो तामाङ भाषाका चलचित्रमा अभिनय गरेका छन् । मुलधारका चलचित्रमा समेत अभिनय गर्ने सोच बनाए पनि तामाङ जातिको संस्कार, संस्कृति र भेषभूषामा आधारित रहेर बनेका चलचित्रमा व्यस्त हुनु पर्दा समय अभाव भएको उनको भनाइ छ ।
उनै छिरिङले आफ्नो पाइला म्युजिक भिडियोमा समेत चालेका छन् । उनले अभिनय गरेको नयाँ सेलो गीत ‘ठेकीको मोही मिठो’ तामाङहरूको पर्व सोनाम ल्होछार (ल्होसारको) अवसर पारेर सार्वजनिक भएको छ । बुधबार सार्वनिक गरिएको भिडियोमा उनको जोडीको रूपमा सरिता राना मगरले साथ दिएकी छन् भने करण तामाङ र डिबी दोङको समेत अभिनय समेटिएको छ ।
छिरिङ दोर्जे लामाको शब्दमा साम्तेन मोक्तानको संगीत रहेको गीतमा साम्तेन र जीतु लोप्चनको स्वर रहेको छ । त्यसै गरी चाँद सिंहले एरेञ्ज गरेका छन् । गीतको भिडियोमा राजीव आचार्यको कोरियोग्राफी, विजय लामाको छायाँकन, राजेशकुमारको सम्पादन तथा धनबहादुर तामाङ (सागर गोले)को निर्देशन रहेको छ ।