साँच्चै भन्ने हो भने वर्तमान सरकार राष्ट्रवादको नाराको भरमा बनेको हो । भारतले नेपालमाथि अनाहकमा लगाएको नाकाबन्दीका विरुद्ध तत्कालीन नेपाली कांग्रेसको सरकारले बोल्न सकेको थिएन । नेपालले घोषणा गरेको संविधानप्रति असहमति जनाएर भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । नेपाली कांग्रेस संविधान घोषणा गरे पनि उसले उक्त नाकाबन्दीको खुलेर विरोध गरेन । यसैबीच, दलीय सहमतिअनुसार नेकपा एमालेको सरकार बन्यो र सो सरकार भारतका विरुद्ध उर्लेर नै अघि बढ्यो । यसैबापत नेपाली जनताले सो सरकारलाई राष्ट्रवादीको रूपमा चित्रित गरे । यसैबीच, सरकारले भारतको विरोध गर्दै चुच्चे नक्सा जारी गरेर भारतविरोधीका बिल्ला लियो । यसपछि जनताले सरकारलाई वाहवाही गरे तर अहिले सरकारले आफ्नो असली रूप देखाएको छ । सरकारले नेपालको प्राकृतिक सम्पदा निकासी गरेर भारतीयहरूको सहरलाई झिलिमिली बनाउन कम्मर कसेर लागेको छ ।
हिजो भारतीयहरूलाई बिनारोकटोक नागरिकता दिनका लागि अध्यादेश ल्याएर सरकारले सजिलो काम गरेको थियो । खासगरी नेपाली बुहारीले भने बुहारी बनेको भोलिपल्टै नागरिकता पाएर पर्सिपल्ट मन्त्री, सांसद हुनुपर्ने कानुन बनाउने सरकार कसरी राष्ट्रवादी बन्यो ? सरकारले नेपाललाई भुटानीकरण हुँदै सिक्किमीकरणतिर लैजाने त्यो नसके फिजीकरण गर्ने गरी भारतलाई ऋण तिर्दै आएको छ । वास्तवमा वर्तमान सरकारको कुर्सी बचाउनका लागि सरकारले भारतीयहरूको पक्षमा एक एक गरी निर्णय गरिरहेकाले यसको विरोध गर्नुको विकल्प छैन । नेपाली जनतालाई भेडा बनाउने नेताहरूलाई अब कति दिनसम्म बोक्ने ? यो आजको टड्कारो आवश्यकता भइसकेको छ । यसैबीच, नेपालको चुरे फाँडेर त्यहाँ हेको ढुंगा, गिट्टी र बालुवा निर्यात गर्ने गरी बजेट नै ल्याएको छ । हिजो भारतलाई गाली गरेको पार्टीले गाली गरेको मूल्य भारतलाई तिर्नका लागि गरेको यो कार्य भनेको साँच्चै आमाको मिर्गौला बेचेर श्रीमतीलाई सुन लगाइदिएको सरह भएको छ ।
सरकारले प्राकृतिक सम्पदालाई भारत निर्यात गरेर व्यापार घाटा कम गर्ने बजेट वक्तव्यमार्फत सार्वजनिक गरेको नीतिलाई जनताले विराध गर्नैपर्छ । भारतलाई खुसी बनाउन र उसको आवश्यकता पूरा गरिदिन राष्ट्रकै विरुद्ध नांगो दलाली गर्ने नेताहरूलाई अब खबरदारी गर्नैपर्छ । ढुंगा, गिट्टी, बालुवा निर्यातका लागि गरिने ठूलो मात्राको उत्खनन्ले वातावरणीय सन्तुलन खल्बलिन गई चुरे र पहाडमा पानीका स्रोत सुक्ने, भूक्षय, बाढी पहिरोको जोखिम बढ्ने र भविष्यमा नेपालको तराई मरुभूमिमा परिणत हुने कुरा सहजै अनुमान लगाउन सकिने भएको भए पनि सरकारले भारतलाई खुुसी बनाउनका लागि गरेको यो गद्धारी कामको जति विरोध गरे पनि यो कमी नै हुन आउँछ । यो कार्यले भारतको प्राकृतिक सम्पदा बचाउन मद्दत गर्ने र खासमा सिमित व्यवसायीलाई पोस्ने काम मात्र हुने भएको छ । त्यसैले यो कदमलाई विरोध गरेर रोक्नैपर्छ ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८ ०५:२८