
काठमाडौं– भन्सार राजस्व छलेर नेपाल भित्र्याइएका अधिकांश मोबाइल सेटको कारोबार बजारमा खुलेआम हुँदै आएको छ । सस्तो फोन सेटको बिक्री गर्ने केही कम्पनीका आधिकारिक बिक्रेता नेपालमा रहे पनि विश्वभर महँगो मूल्यमा बिक्री हुने एप्पल कम्पनीको आइफोनको आधिकारिक बिक्रेता नेपालमा छैन । तर, आफूलाई आइफोनको आधिकारिक बिक्रेता भएको भ्रामक प्रचार गरेर केही व्यवसायीहरूले चोरीपैठारी गरी ल्याइएका सेट बिक्री गर्दै आएका छन् । नेपालमा आइफोन बेच्ने अधिकांश व्यापारीहरूले आफूलाई एप्पलको आधिकारिक बिक्रेताको रूपमा प्रचार गर्ने गरेका छन् । उनीहरूले चोरीपैठारी गरी ल्याइएका एप्पल ब्राण्डको मोबाइल सेट अत्याधिक महँगोमा बिक्री गरिरहँदा पनि सम्बन्धित निकायबाट अनुगमन नहुँदा अवैधधन्दाले तीव्रता पाएको छ । संघीय राजधानीका न्युरोड, पुतलीसडक, पुल्चोक, चावहिल, कोटेश्वर, नयाँबानेश्वर, कलंकीलगायतका पसलमा आइफोन बेच्न राखिएका छन् । त्यहाँका सबैजसो पसलले आफूलाई आइफोनको आधिकारिक बिक्रेता दाबी गर्ने गरे पनि उनीहरू कोही पनि आधिकारिक बिक्रेता होइनन् । एप्पलले नेपालमा हालसम्म कसैलाई पनि बिक्रेताका रूपमा नियुक्त गरेको छैन ।
नेपालमा सिंगापुर, मलेसिया, कतार, दुबईलगायत देशबाट अवैधरूपमा भित्र्याइएको सेटलाई झोलामा हालेर बिक्री गर्ने एजेन्टमार्फत पसलले खरिद गरेर बेच्न राखेको स्रोतको दाबी छ । पछिल्लो समय अवैधरूपमा सेट नेपाल भित्र्याउनेहरूले सामाजिक सञ्जालको प्रयोग गरी ‘आइफोन १२ प्रोम्याक्स’ र ‘आइफोन १३’ मोडलको सेट बिक्रीका लागि राखिएको भन्दै राखी ठगीधन्दा चलाउँदै आएका छन् ।
सम्बन्धित कम्पनीले नेपालमा आधिकारिक बिक्रेता नराखेको अवस्थामा आफूलाई सो कम्पनीको आधिकारिक बिक्रेता भएको देखाउन नक्कली प्रमाणपत्र समेत बनाइएको भेटिएको छ । स–साना मोबाइल पसलदेखि ठूलो लगानीमा मोबाइल सेटको खरिद बिक्री गर्ने व्यापारीहरूसमेत नक्कली प्रमाणपत्रको भरमा अवैध मोबाइलको कारोबारमा संलग्न रहेको पाइएको छ । न्युरोडस्थित ताम्राकार हाउस मोबाइल खरिद बिक्रीका लागि चर्चित रहेको छ । ताम्राकार हाउसमै अवैध सेटको बिक्री गरिनुका साथै नक्कली प्रमाणपत्र राखिएको पाइएको छ ।
आफूहरूलाई मुख्य आयातकर्ता भएको भन्दै पेम्बा लामा, यशु श्रेष्ठ र लोकेश तिवारीलगायतको समूहले झोलामा सेट राखेर पसल–पसलमा बिक्री गर्ने गरेको समेत खुलेको छ । वैधानिक बाटो भएर आएका मोबाइल सेटको कर तिरिएको हुन्छ । तर, लुकाइछिपाई ल्याइएका मोबाइल सेटको कर तिरिएको हुँदैन । जसका कारण अवैध सेट बिक्री गर्दा सरकारलाई बुझाउनु पर्ने कर राजस्व र मूल्य अभिवृद्धि (भ्याट) का साथै आयकरसमेत छल्ने काम भइरहेको छ । कर छल्न पाउने र्भएपछि व्यापारीहरूले अवैधरूपमा भित्रिएकै सेटको बिक्री गर्न रुचाउँदै आएका छन् ।
अवैध सेट बेच्ने व्यापारीले भ्याट बिल दिने गरेका छैनन् भने अधिकांशले नक्कली भ्याट बिलबाट कारोबार गर्दै आएको खुलेको छ । अवैध रूपमा लिइएको एक सेटबाट व्यापारीले १० हजारदेखि ५० रूपैयाँभन्दा बढी नाफा लिँदै आएका छन् । वैध सेटमा सो नाफा खान नपाउने भएकाले व्यापारीहरूले वैधभन्दा अवैध रूपमा नेपाल ल्याएको सेटकै कारोबार गर्ने गरेका छन् । नेपालमा यसरी बजारलाई अवैध सेट उपलब्ध गराउन ठूलै गिरोह सक्रिय रहेका छन् । यसरी सेट अवैधरूपमा नेपाल भित्र्याउनेमा दरबारमार्ग र बबरमहलमा पसल राखी व्यवसाय गर्दै आएको ‘एप्पल स्टोर ओलिज’ नामक कम्पनी अग्रस्थानमा रहेको छ ।
सो कम्पनी खासमा मोबाइलको कभर र पाटपूर्जा बिक्री गर्ने कम्पनी हो । तर, चोरीपैठारी गरी नेपाल ल्याएका सेटलाई आफूखुसी मूल्य निर्धारण गरेर गोप्य रूपमा बिक्री गर्दै आएको पाइएको छ । सो कम्पनीले बाहिर पसलमा मोबाइलका सिरिजहरू राखेको छ भने भित्रबाट अवैध रूपमा नेपाल ल्याइएका सेटहरू महँगोमा बिक्री गर्ने गरेको छ ।
त्यो गिरोहले अवैध सेटको काम मात्रै गर्दैन । वैध सेटको आवरणमा अवैध सेटको काम गर्नेहरू पनि धेरै छन् । कतै पनि दर्ता गर्नु नपर्ने भएका कारण कति परिमाणमा अवैध सेटको खरिद बिक्री हुन्छ भन्ने तथ्यांक उपलब्ध छैन । भन्सार नतिरी अवैध बाटो हुँदै कति मोबाइल भित्रिन्छन् भन्ने एकिन तथ्यांक पनि कोही कसैसँग छैन । उपभोक्ताहरूले प्रयोग गरेको र बजारमा कारोबार भएका हिसाबले यस आर्थिक वर्षमा मात्र ५० अर्ब मूल्यमाथिको मोबाइल सेटहरू कारोबार भएको देखिन आएको छ । यसले बजारमा अवैध मोबाइलकै बिगबिगी रहेको सजिलै देखाउँछ । वैधानिक आयातको तुलनामा ६० प्रतिशतको हाराहारीमा यस्तो अवैध कारोबार हुने अनुमान गरिएको छ । यसबाट राज्यलाई अर्बौं रूपैयाँको नोक्सानी हुँदै आएको छ । यसमा ६० प्रतिशत मोबाइल सेट विदेशबाट वैदेशिक रोजगारीमा फर्किएकालाई बोकाएर र आफन्तलाई पठाउने नाममा नेपाल भित्र्याउने गरिएको छ ।
यस्ता मोबाइलहरू राजधानीका विभिन्न सपिङ सेन्टर, मोबाइल पसल, कम्प्लेक्स तथा मलहरूमा एजेन्टमार्फत पु¥याउने गरिन्छ । मोबाइलको कारोबार, प्रयोगकर्ताहरूको संख्या, आयातको अनुपात आदि हेर्ने हो भने यो व्यापारमा अनियमितता सजिलै भएको पुष्टि हुन्छ ।
बजारमा एप्पलबाहेक सामसुङ, हुवाई, वान प्लसलगायतका सेटहरूको पनि अवैध कारोबार हुने गरेको बताइएको छ । नेपाली बजारमा कारोबार भएका आइफोनहरू ९९ प्रतिशत नै अवैध भएको व्यापारीहरू नै बताउँछन् । यसमा कुनै वारेन्टी ग्यारेन्टी हुने गरेको छैन ।
नेपाल सरकारले मोबाइल आयातमा ५ प्रतिशतको भन्सार शुल्क लगाएको छ । यसमा १३ प्रतिशतको भ्याटसमेत जोडिदा १८ प्रतिशत पुग्छ । तर, भन्सार छली गर्दा १८ प्रतिशत बराबरकै रकम बच्ने हुँदा व्यापारीहरूले अवैध बाटो प्रयोग गर्दै मोबाइल ल्याउने गरेका छन् । यसले एकातिर कर छलेको देखिन्छ भने अर्कोतर्फ अवैध सेटको प्रयोगले सुरक्षा खतरा पनि हुने विज्ञहरूको दाबी छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले प्रभावकारी रूपमा नियमन गर्न नसक्दा बजारमा अहिले चोरीपैठारीका मोबाइल सेटहरूको खुला रूपमा बिक्री भइरहेको छ । प्राधिकरणको ‘टाइप अप्रुभल’ नभएका मोबाइल सजिलै भित्रिने गरेका छन् । प्राधिकरणले यसअघि सबै मोबाइल सेटको आइएमइआई नम्बर दर्ता गर्नुपर्ने बताए पनि त्यसको पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । जसले गदौ अवैधरूपमा मोबाइल सेट नेपाल ल्याउन व्यापारीहरू उत्साहित भएका हुन् ।