काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको विशेष पहलमा गत १ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो ।
१५ देखि ३० असोजसम्म आयोजना भएको १३औँ संस्करणको साफ च्याम्पियनसिपमा इतिहास रच्न सफल राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख नगद पुरस्कारले पुरस्कृत गर्ने निर्णयअन्तर्गत अलमुताइरीलाई सम्मान गरिएको हो । यसअघि सरकारले गत ६ पुसमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरिसकेको छ । सो समयमा अलमुताइरी नेपालमा नरहेकोले उनलाई शुक्रबार सम्मान पत्र र नगद पुरस्कार वितरण गरिएको हो ।