भारतले पाँचौ पटक यु–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । इङ्ल्यान्डविरुद्ध १९० रनको लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेट गुमाउँदै उपाधि पाउन सफल भएकोे हो । भारतको जितमा उपकप्तान शेख रशीद र अलराउण्डर निशान्त सिन्धुले अर्धशतकीय पारि खेलेका हुन् ।
भारतका लागि राशिदले ८४ बलमा ६ चौकासहित ५० रन जोड्दा ५४ बल खेलेका सिन्धु ५ चौका र १ छक्कासहित ५० रनमा नटआउट रहेका थिए । राज बावाले ३५ रन जोड्दा हार्नुर सिंहले २१ तथा कप्तान धुलले १७ रन जोडेका थिए । इङ्ल्यान्डका लागि जोश्ना बोयडेन, जामेश शेल्स र तोमास आस्पिनवालले समान २–२ विकेट लिएका हुन् ।
यसअघि सर विवियन रिचर्ड्स क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरको खेलमा ४४.५ ओभरमा अलआउट हुँदै १८९ रन बनाएको थियो । उसका लागि जामेश रेउले सर्वाधिक ९५ रनको पारि खेलेका हुन् । ११६ बल खेलेका उनले १२ चौका प्रहार गरे पनि ५ रनले सतक बनाउन चुकेका थिए । जामेश सेल्सले ३४, जर्ज थोमसले २७ रन बनाउनुबाहेक अन्य ब्याटरले सम्हालिएर खेल्न सकेनन् ।
रेहान अहमद र एलेक्स होर्टोनले १०–१० रन बनाउनुबाहेक अन्यले ४ रन भन्दा बढी जोड्न सकेनन् । ७ विकेट गुमाएर ९१ रन मात्र बनाएको अवस्थामा इंग्ल्यान्डलाई आठौँ विकेटका लागि जेम्स रिउ र जेम्स सेल्सले ९३ रनको साझेदारी गर्दै सम्मानीत स्कोरमा पुर्याएका थिए ।
भारतका लागि राज बावाले सर्वाधिक ५ विकेट लिँदा रवि कुमारले ४ विकेट हात पारेका छन् । थप विकेट कौशल ताम्बेले लिए । योसँगै यश धुल नेतृत्वको भारतले पाँचौ पटक युवा विश्वकप हात पारेको हो । यसअघि भारतका लागि विराट कोहली, मोहम्मद कैफ, उन्मुक्त चन्द र पृथ्वी शले भारतलाई युवा विश्वकप दिलाएका थिए ।
-एजेन्सीको सहयोगमा