दिग्गज गायिका लता मंगेशकरको निधन भएको छ । भारतीयसँगै दर्जनौं भाषामा हजारौं गीत गाएकी लताको आइतबार बिहान मुम्बईस्थित क्यान्डी अस्पतालमा निधन भएको हो । ९२ वर्षीय लता गत जनवरीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्वस्थ थिइन् । आइतबार उनका स्वास्थ्यमा थप जटिलता भएपछि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।
लतासँग नेपालको पनि साइनो छ । उनले केही नेपाली गीतहरु गाएकी छिन्, जुन निकै चर्चित छन् । ‘बाचुञ्जेलीलाई,जुन माटोमा मेरो, आकाशैका तिरमिरे तारा’ बोलको गीत गाएकी छिन् । आफूले गाएका नेपाली गीत सम्झिँदै फेरि गाउन पाउँदा खुशी लागेको बताएकी थिइन् ।
लताले आफूसँगै संगीतको एउटा युग लिएर हिँडेकी थिइन् । जीवनभर ८० वर्षभन्दा लामो समय संगीत क्षेत्रलाई दिएकी उनले भारतीयसँगै एसियाली क्षेत्रका दर्जनौँ भाषामा ५० हजारभन्दा धेरै गीत गाइन् । लताको निधनमा भारतसँगै नेपालको संगीत क्षेत्र स्तब्ध छ । उनको निधनमा थुप्रै कलाकारले दुःख व्यक्त गरेका छन् । उनीसँगै संगीतको एउटा युगको अन्त्य भएको छ ।