काठमाडौं — कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)ले १ फागुनदेखि सिनेमा हल खोल्न सिफारिस गरेको छ । आइतबार बसेको सिसिएमसिसीको बैठकले १ फागुनदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सिनेमा हल खोल्न सरकारलाई सिफारिस गरेको सिसिएमसिसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।
कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले गत ३ माघदेखि सिनेमा हल बन्द गर्ने निर्णय गरेको थियो । हल बन्द भएसँगै चलचित्र प्रदर्शन अनिश्चित बनेको थियो भने चलचित्र निर्माण कार्यमा पनि अलमल भएको थियो । सिसिएमसिसीको सिफारिसले चलचित्रकर्मी खुसी भएका छन् ।