काठमाडौं — देशमा राजनीतिक दलहरूबीच एमसिसीको पक्ष र विपक्षमा चर्काचर्की बहस चलिरहेको बेला एमसिसीविरुद्धको गीत सार्वजनिक भएको छ ।
पोखराको संगम सांस्कृतिक मञ्चको प्रस्तुतिमा बनेको ‘से नो एमसिसी’ बोलको गीतको रचना स्ट्रगल रानाले गरेका हुन् । उक्त गीतमा संगम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँलेको संगीत रहेको छ भने स्वर मञ्चका सचिव विकास लुंगेलीले दिएका छन् । लुंगेलीलाई प्रतिक्षा सुनारले गायनमा साथ दिएकी छन् ।
एमसिसी आएमा नेपालको आकाशमा साम्राज्यको बादल छाउने भन्दै नेपाली छातीमा अमेरिकी सेनाले परेड खेल्ने अवसर बन्ने भएकाले कुनै पनि हालतमा अनुमोदन गर्न नहुने भाव गीतमा प्रस्तुत गरिएको छ । नेताहरूले मातृभूमि बन्धक राखेर भुँडी भर्न खोजेको भन्दै एमसिसीको पक्षमा भएका नेताहरूलाई खबरदारीसमेत गरिएको छ ।
प्रत्यक्ष गायनको भिडियो निर्माण गरी सम्मोहन टिभी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले अधिकांश नेपालीको भावना समेट्ने संगम सांस्कृतिक मञ्चको विश्वास छ ।