काठमाडौं – नेपाली गीतसंगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड’को तेस्रो संस्करण ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड–२०२२’ आयोजना हुने भएको छ । बिगतझै यो वर्ष पनि अवार्डको आयोजना स्टार वान इन्टरटेनमेन्टले गर्न लागेको हो ।
अवार्डमा भाग लिन चाहनेका लागि बिहीबारबाट फाराम खुला गरिएको आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाले जानकारी गराएकी छन् । अवार्डमा सहभागी हुन चाहनेले आगामी ५ चैतसम्म फारम भरिसक्नुपर्नेछ । सहभागीले स्टार वान इन्टरटेनमेन्टको कार्यालय नयाँ बानेश्वरबाट फारम लिएर भर्न सक्ने बताइएको छ । अवार्डको आयोजना नयाँ वर्षको अवसर पारेर आगामी बैशाखमा गरिने जनाइएको छ ।
अवार्डमा सन् २०२१ जनवरीबाट सन् २०२२ जनवरी अन्त्यसम्म रिलिज भएका गीत हुनुपर्ने आयोजक पक्षले जनाएको छ । अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीतहरूले भाग लिन पाउनेछन् ।
कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार अवार्ड समारोहमा विभिन्न सम्मान पनि गरिनेछ । संगीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएकाहरूलाई ‘आजीवन योगदान सम्मान’ र विशेष सम्मान प्रदान गरिने भएको छ ।
फेसनतर्फ कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाइनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट डिजाइनर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, अन्तराष्टिय ब्युटिपेजेन्ट उपाधि विजेता, राष्टिय व्युटिपेजेन्ट उपाधि विजेता, फेसन आईकन, फेसन तथा ब्युटीपेजेन्ट फोटोग्राफर, उत्कृष्ट फेसन शो तथा व्युटिपेजेन्ट र फेसन डिजाइनिङ इन्टिच्युट विधामा प्रतिस्पर्धा हुनेछ ।