कतार भिसा सेन्टर (क्युभिसी)ले भनिएजसरी सेवा दिनु नसक्दा नेपाली श्रमिहरू मारमा परेका छन् । क्युभिसीले रोजगारीमा कतार जानेहरूका लागि प्रवेशाज्ञा र श्रमपत्र जारी गर्ने तथा स्वास्थ्य परीक्षण, सुरक्षा जाँच (फिंगर प्रिन्ट) लगायत सेवा दिँदै आएको छ । क्युभिसी स्थापनाको केही महिनासम्म राम्रै सेवा दिए पनि अहिले भने सिन्डिकेट लागू गरेर श्रमिकहरूलाई मारमा पारेको छ । क्युभिसीको काम सन्तोषजनक नभएपछि यसको खारेजीको माग आउन थालेको छ । त्यसो त राज्य संघीयतामा गइसकेको अवस्थामा काठमाडौंमा मात्र क्युभिसी खडा गरी झन्झटिलो व्यवस्था लाद्नु दुःखद नै हो । कतार जान विभिन्न जिल्लाबाट काठमाडौं आएकाले सेन्टरबाट सेवा लिन महिना दिनसम्म पनि कुर्नुपर्दा श्रमिकहरू झन् मर्कामा पर्दै आएका छन् । सरकारले सिन्डिकेटको विरोध गरेर सिन्डिकेट हटाएको रटान लगाएर जनताको अघि खोक्रो गफ दिएर झुक्याउने काम स्वीकार्य छैन ।
क्युभिसीको ढिलाइपनले श्रमिकहरू आर्थिक भारमा परेका छन् । कतिपयको त सेवा नपाउँदै भिसा अवधिसमेत सकिएपछि उनीहरू इन्तु र चिन्तु भएका छन् । यस्तो अवस्थामा पनि राज्य रमिते हुनु भनेको दुर्भाग्य नै भन्नुपर्छ । राज्यले सबै सेवा स्थानीय तहबाटै दिने व्यवस्था मिलाइरहेको सन्दर्भमा कतार जाने श्रमिक देशभरबाटै काठमाडौं धाउनुपर्ने गरी कानुन बनाइनु अत्यन्तै दुःखद कुरा हो । कतारले वार्षिक डेढ लाखभन्दा बढी नेपाली श्रमिक लैजाने भए पनि क्युभिसीले वार्षिक पचासदेखि साठी हजारलाई मात्रै सेवा दिँदै आएको छ । यस कारण आधाभन्दा बढी श्रमिकको रोजगारी अवसर गुम्ने देखिएको पनि यतातिर सरकारले नजर लगाउन नसक्दा नेपालीहरू रोजगारबाट विमुख भएका छन् । कतारमा सन् २०२२ को विश्वकपका लागि ठूल्ठूला परियोजना छन् । कामदारको माग एकदमै राम्रो छ । तर सेन्टरको सेवा प्रभावकारी नहुँदा धेरै युवा जानबाट वञ्चित हुने देखिएको छ ।
म्यानपावर व्यावसायीहरूले क्युभिसीबाट सिन्डिकेट खडा गरी अप्ठ्यारोस्थिति सिर्जना गरेको बताइसकेका छन् । उनीहरूको भनाइलाई बेवास्ता गर्नु सरकारको कमजोरी हो । यसअघि नेपाल सरकारबाट मान्यताप्राप्त जुनसुकै स्वास्थ्य मापदण्डभित्र परेका मेडिकलमा स्वास्थ्य जाँच गर्न पाइने भए पनि अहिले क्युभिसीबाट परीक्षण गराएर मात्रै जान पाइने भनिएपछि श्रमिकहरू अलमलमा परेका छन् । यो पनि ठिकै होला तर समयमा सेवा नपाइएपछि श्रमिकहरू छट्पटाइरहेका छन् । यो सरासर सिन्डिकेट हो, त्यसैले यसको विकल्प सरकारले खोज्नै पर्छ । भिसा अवधि सकिन लागेकाको सम्बन्धमा क्युभिसीले छुट्टै व्यवस्था गरेर सेवा दिनुपर्छ । पुनः स्वास्थ्य परीक्षण गर्दा लामो समय लाग्ने भएकाले एक हप्ताभित्र हुने व्यवस्था मिलाएर सेवालाई सहज र सुलभ बनाउनु आवश्यक छ । अन्य देशमा क्युभिसीले चौबिसै घन्टा सेवा खुला गरेकाले नेपालमा पनि यहि व्यवस्था मिलाइनुपर्छ अन्यथा यसले श्रमिकहरूलाई क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने हुन्छ ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८ ०८:०३