काठमाडौं – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबारका दुवै खेल बराबरीमा सकिएको छ ।दशरथ रंगशालामा सम्पन्न दुवै खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबबीचको खेल र नेपाल एपीएफ क्लब र संकटा क्लबले बराबरी खेलेका छन् ।
आइतबार भएका दुवै खेल गोलरहित बराबरीमा सकिएका हुन् । एनआरटी र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । त्यसका साथै एपीएफ र संकटा पनि गोलरहित बराबरीमा सकिएका हुन् ।
एनआरटीको तुलनामा हिमालयनले बल पोसेसनमा पकड जमाएको थियो । तर, गोल निकाल्न सकेन । खेलको २५ औं मिनेटमा हिमालयनका कप्तान विश्वास श्रेष्ठको उत्कृष्ट फ्रि–किक एनआरटीका गोलकिपर अजित प्रजापतिले उत्कृष्ट बचाउ गरे । खेलको ५३ औं मिनेटमा हिमालयनका आशिष गुरुङले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बल एनआरटीका गोलकिपर अजितले नै बचाए । ५८ औं मिनेटमा हिमालयनकै विशन गुरुङले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको बल अजितले सहजै रोके ।
यस्तै खेलको इन्जुरी समयमा हिमालयनका त्रिदेब गुरुङको प्रहार अजितले मुश्किलले बचाए । यस बराबरीसँगै एनआरटीले १० खेलमा १४ अंक जोडेको छ । एनआरटी लिगको सातौं स्थान रहेको छ । हिमालयन १० खेलमा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ । खेलमा हिमालयनका आशिष गुरुङ प्लेयर अफ दि म्याच चुनिए । एनआरटीका सनम लिम्बु इमर्जिङ प्लेयर चुनिए । त्यसैगरी एपीएफ र संकटाबीचको खेलमा खेलको ११ औं मिनेटमा संकटाका फोडे फोफानाको प्रहार एपीएफका विदेशी गोलकिपर युया कुरियामाले डाइभ हान्दै बचाए ।
खेलको ३५ औं मिनेटमा एपीएफका कप्तान नविन लामाको कर्नरमा अर्मान्ड बिडोमको फ्रि हेडर पोस्ट माथिबाट बाहिरिएको थियो । ६० औं मिनेटमा एपीएफका गोलकिपर अगाडी बढेको अवस्थामा संकटाका रोमन लिम्बुले प्रहार गरेको फ्रि–किक बलले पोस्टको दिशा लिन सकेन । ६१ औं मिनेटमा संकटाका उत्तम राईको प्रहारमा ओलुवासोगोको वान टच प्रहारले पोस्टको दिशा लिन सकेन ।
खेलको ६७ औं मिनेटमा संकटाका ओलुवासोगोको क्रसमा उत्तमको हेडर प्रहार एपीएफका गोलकिपर कुरियामाले उत्कृष्ट बचाउ गरे । ७४ औं मिनेटमा एपीएफका आवाश लामिछानेले पेनाल्टी क्षेत्र भित्रबाट गरेको सशक्त प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले मुश्किलले बचाए ।
खेलको ८० औं मिनेटमा संकटाका फोफानाले गोलको सुनौलो अवसर गुमाए । लक्ष्मण रुचालको कर्नरमा अनमार्क रहेका उनको प्रहार सिधै गोलकिपरको हातमा गएको थियो । ८५ औं मिनेटमा एपीएफका नविन लामाको फ्रि–किक संकटाका गोलकिपर राजाबाबुले आङ्खनो पन्जामा पारे । यस बराबरीसँगै एपीएफले १० खेल ११ अंक जोडेको छ । एपीएफ नवौं स्थानमा रहेको छ । संकटा १० खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।