काठमाडौं – नेपाल बास्केटबल संघका अध्यक्ष स्व. लामा टेन्डी शेर्पाको सम्झनामा हुन लागेको लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिता संयोजक विकास शाहीले जनाएका छन् ।
प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ । नेपाल बास्केटबल संघकै आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुषतर्फ १३ टिम मात्र सहभागी हुने भएका छन् ।यसअघि १४ टिम सहभागी हुने भनिएकोमा बंगालादेशको नेभी टिम नआउने भएको आयोजकले जनाएको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ ।
महिलातर्फ भने पाँचै टिमको सहभागिता रहने छ । राउन्ड रविन लिगका आधारमा हुने स्पर्धामा शीर्ष २ स्थानमा रहने टिमले उपाधिका लागि पुनः प्रतिस्पर्धा गर्ने छन् । पहिलो दिन ३ खेल हुने छ । पुरुषको २ र महिलाको १ खेल हुने छ । उद्घाटन खेलमा पुरुषतर्फ बीएमके र कीर्तिपुर नगरपालिकाले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमै अर्को खेल ड्रिम टिम र शंकरदेव क्याम्पसबीच हुने छ । महिलामा ललितपुर हाइ र रोयल बास्केटबल एकेडेमीले खेल्ने छन् । फाइनल फागुन १२ गते हुने छ ।