काठमाडौं –नेपालका एक वरिष्ठ साहित्यकार तारानाथ शर्माको आज निधन भएको छ । लामो समयदेखि डिमेन्सियाबाट पीडित शर्मालाई मुटुरोग, उच्च रक्तचाप, मधुमेहलगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्या भोगिरहेका शर्माको ८७ वर्षको उमेरमा आज निधन भएको हो । उनी ताना शर्माका नामबाट लोकप्रिय थिए ।शर्माका दुई छोरा र श्रीमती छन् ।
विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका उनले ‘झर्राेवादी आन्दोलन’का एक अगुवा हुनुका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेखेका छन् । डा.शर्माको नियात्रा ‘बेलायततिर बरालिँदा’ ले विंस २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गरेका थिए ।
उनलाई नेपाल प्रज्ञाप्रतिष्ठानले आजीवन सदस्यतासमेत दिएको थियो । उनी एक पाठ्यपुस्तक लेखक पनि थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले दिवङ्गत शर्माको निधनबाट नेपाली वाङ्यमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।
सन् १९३४ असार २३ गते निर्जला एकादशीका दिन इलामको बारबोटेमा जन्मिएका शर्माले संस्कृत पढेर पढाइ सुरु गरेका थिए । विसं २०१३ मा बनारसमा पढ्दै गर्दा उनले बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतसँग मिलेर कट्टरपन्थी आन्दोलन सुरु गरेका थिए । नेपाली भाषालाई कट्टरपन्थी पहिचान दिने र नेपाली व्यक्तिपरक निबन्ध लेखनलाई लोकप्रिय बनाउने श्रेय उनलाई दिइन्छ। शर्माको अन्त्येष्टि मंगलबार मध्यान्ह १२ बजे पशुपति आर्यघाटमा भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रणी साहित्यकार डा तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको बताएकी हुन् । सामाजिक सञ्जाल ट्विटरमा भनिन् , ‘प्रखर समालोचक एवम् नेपाली भाषामा झर्रोवादी आन्दोलनका अग्रणी डा.तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ । आफ्ना दर्जनौँ कृतिका माध्यमबाट उहाँ हामीबीच अमर रहनुहुनेछ । दिवङ्गत शर्माप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वरिष्ठ साहित्यकार डा शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले दिवङ्गत साहित्यकार शर्माप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।