धरान – नेपाली बब मार्लीको रुपमा सुपरिचित लोक गायक गंगा बरदान मास्केको धरानको कोरियनमान्डू रेस्टुरेन्टमा जन्मदिन मनाएको छ । नेपाली बब मार्लीको रुपमा सुपरिचित लोक गायक मास्केको ६९ बर्षमा पुगेको उपलक्ष्यमा संगीत क्षेत्रमा निरन्तरता तथा सुस्वास्थ्यको कामना गर्दै एक समारोहकाबीच मंगलबार धरानको कोरियनमान्डू रेस्टुरेन्टमा जन्मदिन मनाएको हो ।
सिल्भर इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न कार्यक्रममा धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ , गीतकार मिना सिंगक सुब्बा , कोरियनमाडू रेस्टुरेन्टका संचालक रोशन मोक्तान ,चर्चित गायक एपी शेर्पा, सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठलगायतका संगीतकर्मीहरु तथा शुभचिन्तकहरुको माझ केक काटेर गायक बरदानको ६९ औँ जन्मोत्सव मनाईएको थियो ।
वि.स. २००९ साल फागुन २ गते शुक्रबार भोजपुरको दिङ्गलामा जन्मिएको गायक बरदानले संगीत क्षेत्रमा मात्र युवा अवस्थादेखि नै अनावरत रुपमा लागि परेका हुन् । वहाँको लोकपप शैलीको छपनीले छान छान डबकीले हान , बजारै भरौन धराने , कहाँमा काट्यो बेतको लौरी , सिम सिम पानी , अरुनै तर्यो लगायतका गीतहरु अहिले पनि उतिकै लोकप्रिय छन् ।
यसरी पहिलोपल्ट आफ्नो जन्मदिनलाई सम्झेर भब्य रुपमा मनाईदिएकोमा धन्यवाद दिँदै अझै संगीतमा लागिरहने उत्प्रेरणा जागेको बताउँदै गायक गंगा बरदानले आफना केहि नयाँ तथा केहि पुराना गीतहरु आफ्नै स्वरमा रेकर्ड गर्न लागेको जानकारी दिएका छन् । गायक बरदानलाई सोही समारोहमा कोरियामा कार्यरत किशोर मास्के , हेम गुरुङ , कमल श्रेष्ठ , सुमन सुनुवार र राजु लिम्बुले संयुक्त रुपमा पठाएको रकम समेत हस्तान्तरण गरिएको थियो।