चितवन -राष्ट्रिय महिला फुटबल लिगको पहिलो चरण चितवनको भरतपुरमा हुने भएको छ । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करणका पहिलो चरणका खेल भरतपुरमा हुने भएको हो ।
भरतपुरमा महानगरपालिका भित्रका दुई खेल मैदानमा फागुन १० गतेदेखि खेल हुने भएको हो ।लिगको पहिलो चरणको खेल सञ्चालनका लागि भरतपुर महानगरपालिका र अखिल नेपाल फुटबल सङ्घ ,एन्फाबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा महानगरका प्रमुख रेनु दाहाल र एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरेका छन् । महानगर प्रमुख दाहालले राष्ट्रिय महिला लिग भरतपुरमा आयोजना गर्न पाउनु गर्वको विषय भएको बताएका छन् । एन्फा अध्यक्ष शेर्पाले भरतपुर देशकै मध्यभागमा रहेकाले लिगको पहिलो चरणका खेल आयोजना गर्न लागिएको बताए ।
सम्झौताअनुसार लिग सञ्चालनका लागि महानगरले एन्फालाई २० लाख आर्थिक सहयोग उपलब्ध गराउनेछ । राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेल भने विराटनगरमा हुने बताइएको छ ।लिगका ५६ मध्ये २८ खेल भने चितवनमा हुनेछ ।
खेल भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर खेल मैदान र वडा नं १९ को खेल मैदानमा हुने जानकारी दिइएको छ । केही दिनभित्रै खेल तालिका सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
यसपटक महिला लिगमा तीन विभागीय टोली नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल ,एपिएफसहित, वालिङ, विराटनगर, चपुर, धनगढी र ललितपुर भिड्नेछन् । यसअघि पहिलो संस्करणको महिला लिग काठमाडौँमा भएको थियो ।