काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ।
हिजो दिनभर देशका विभिन्न क्षेत्रमा एमसिसीको विरोधमा प्रदर्शन भएको थियो ,केही स्थानमा प्रदर्शनले हिंसात्मक रुप पनि लिएको परिवेशमा बुधबार बेलुका प्रधानमन्त्री र राजदूत बेरीबीच वार्ता भएको हो।
एमसिसीका सम्बन्धमा समान धारणा नहुँदा सत्ता गठबन्धनभित्रै मतभेद कायम रहेका बेला प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच बुधबार बेलुका बालुवाटारको प्रधानमन्त्री निवास भेटवार्ता भएको प्रमको सचिवालय स्रोतले बताएको छ।
एमसिसी संसदमा पेश गर्ने विषयलाई लिएर सत्ता गठबन्धनमा मत मिलेको छैन। सोही कारण बुधबार संसदमा एमसिसी सम्झौता पेश हुन सकेन।एमसिसी पारित गर्नका लागि फागुन १६ गतेसम्मको समय सीमा रहेको छ।
तर माओवादी केन्द्रले यथास्थितिमा एमसिसीको पक्षमा उभिन नसक्ने र जबरजस्ती गरिए सरकारबाट बाहिरिने निर्णय गरेको छ।
यस्तै नेकपा एकीकृत समाजवादीले पनि एमालेसहितलाई सहमतिमा ल्याएर मात्रै एमसिसीबारे निर्णय गर्नुपर्ने बताएको छ।