कपिलवस्तु –कपिलवस्तुको तौलिहवामा यातायात व्यवस्था सेवा कार्यालयको समुद्घाटन सम्पन्न भएको छ ।बुधबार कपिलवस्तुको तौलिहवामा एक कार्यक्रमकाबीच यातायात व्यवस्था सेवा कार्यालयको समुदघाटन कपिलवस्तु नगरपालिकाको पुरानो गेष्ट हाउसमा सम्पन्न भएको हो ।
लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सहसराम यादव र श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।यस कार्यालयको स्थापनापश्चात कपिलवस्तु तथा अर्घाखाँचीका जनताहरूले प्रत्यक्ष रूपमा फाइदा पाउने भएका छन् ।
सेवा कार्यालय नहुदाँ यहाँका जनताहरूले सवारी साधनको कर बुझाउन बुटवल भैइरहवा जानुपर्ने बाध्यता रहेको थियो ।समयमा शुल्क बुझाउन नसकेकोले करभन्दा पनि जरीवाना तिर्नुपर्ने अवस्था रहेको कुरा स्थानियबासीहरूले बताएका छन् । कार्यालय स्थापनासँगै जनताको पैसा र समय दुवै बचत हुने भएको छ । यस कार्यबाट कपिलवस्तुका नागरिकहरु खुसीले दंग भएका छन्।
उद्योग वाणिज्य संघका अध्यक्ष गायादिन कुर्मीलगायत संघको सम्पुर्ण टिमको अथक प्रयासपछि उक्त कार्यालयको स्थापना भएको जनाइएको छ । हाल यस कार्यालयबाट सवारी साधनको नविकरणमात्र हुने भए पनि केही दिनपछि लाइसेन्सको नविकरण, खरिद बिक्रीको नामसारीलगायतको सेवा थपिदै जाने कुरा यातायात मन्त्रालयका सचिव दीपकराज नेपालले जानकारी दिएका छन् ।
कपिलवस्तुका स्थानीयबासीको समस्यालाई महसुस गरि यस सेवा कार्यालयको स्थापन गरिएको भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले बताउएका छन् । मन्त्री बनेपछि आफनो पहिलो प्राथमिकता यस कार्यालयको स्थापना गर्नु थियो र सो पुरा भएको उनले बताए ।
‘यस कार्यालयलाई तौलिहवामा स्थापना हुन नदिन थुप्रै प्रयास भए पनि अन्ततह हामीले यसलाइ तौलिहवामा नै स्थापना गर्न सफल भएका छौँ । कपिलवस्तुका खास गरि दक्षिणी भेगका सेवाग्राहीहरुलाई बुटवल धाईरहँदा अपायक पर्ने र भाषागत पनि कठिनाई भईरहेको थियो । अब समस्या समाधान र खर्चको हिसाबले पनि कम हुनेछ’ भौतिक पुर्वधार मन्त्री सहसराम यादवले बताए । उनका अनुसार स्थानीय तहले जतिचाँडो जग्गा उपलब्ध गराए त्यति चाँडै हामी लाईसेन्स ट्रायालको लागि पनि अगाडी बढ्नेछ ।