काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गठबन्धनको बचाऊमा लागिपरेका छन् । तीन दलको बैठकपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले गठबन्धन बचाउनेमा जोड रहेको बताएका हुन् ।
बिहीबार साँझमा पाँच दलीय समन्वय समितिको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच सिंहदरबारमा छलफल भएको थियो । उक्त छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसीलाई कसरी निकास दिने भनेर छलफल भएको बताए ।
तीन दलबीच साझा धारणा बन्यो भन्ने प्रश्नमा दाहालले भने, ‘हाम्रो जोड सकेसम्म यो गठबन्धन बचाउनेमा छ,’ उनले भने, ‘हामी तीन दललाई एक मत बनाउने भनेर लागेकै छैनौँ । पाँच दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने भन्नेछ ।’
उनले बिहीबार साँझ बस्ने पाँच दलको बैठकले एउटा निकास निकाल्ने बताएका छन् ।