काठमाडौं -अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान नगरे सत्तारुढ दल सरकार छाड्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।
मंगलबार शोकसभा कार्यक्रमका लागि भरतपुर पुगेका विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकारले संसदमा पेश गरेको एमसीसी सम्झौताको विपक्षमा मतदान गरेसरकार छाड्नुपर्ने बताए ।
कम्युनिष्टको नेतृत्वमा बनेको र कम्युनिष्ट सहभागी भएको सरकारले विभिन्न समयमा एमसीसी सम्झौता अगाडि बढाउने काम गरेकाले अहिले विरोध गर्नुको औचित्य नभएको उनले बताए ।सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गरेमा गठबन्धनको औचित्य त्यही दिन सकिने उनले बताए ।
सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने, अनि सरकारमा सँगसँगै बस्छु भन्नु अनैतिक हुने कांग्रेस महामन्त्री थापाको भनाइ छ । मतदानको बेला पेट दुख्यो भनेर घर बस्ने, तर अर्को दिन ठीक भयो भनेुर गठबन्धनमा फर्किएँ भनेर बस्न नसकिने उनले बताएका छन् ।
‘कि भन्न सक्नुपर्यो त्यसबेला निर्णय गर्दा हामीले ठूलो अपराध गर्यौं, भूल गर्यौं ’ उनले थपे । कांग्रेस महामन्त्री थापा कांग्रेस नेता तथा प्रजातन्त्र सेनानी स्व. गुणराज पाठकको नवौं दिनको शोकसभा कार्यक्रममा भाग लिन चितवन पुगेका हुन् ।