काठमाडौं उपत्यकाबाट निस्कने फोहर व्यवस्थापन विगतदेखि नै समस्या बन्दै आएको छ । उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएकोमा बेलाबेला स्थानीयबासीको अवरोधले हप्तौंसम्म फोहर नउठ्ने समस्या दोहोरिरहन्छ ।
अहिले पुनः त्यही समस्या आएको छ । एक साताभन्दा बढी समययतादेखि काठमाडौं उपत्यका र आसपासका स्थानीय तहको फोहर उठ्न सकेको छैन । फोहर उठ्न नसक्दा यहाँ दुर्गन्ध फैलिएको छ ।यसपटकपनि स्थानीयबासीको अवरोधले फोहर उठ्न नसकेको हो ।
स्थानीयबासीले पासाङल्हामु राजमार्ग निर्माणमा ढिलाइ भएको भन्दै सडक आवागमन अवरुद्ध गरेका छन् । जसकारण सिसडोलसम्म फोहर बोेकेका गाडीहरू जान नसक्ने भएपछि फोहर उठाउने कार्य बन्द भएको हो । फोहर बोकेका गाडीहरू १ फागुनदेखि सिसडोलसम्म पुग्न सकेका छैनन् ।
काठमाडौं उपत्यकासहित आसपासका १८ स्थानीय तहको फोहर उठ्न सकेको छैन । जसको परिणाम यहाँका बासिन्दाले फोहरको दुर्गन्ध बेहोर्नुपरेको छ ।काठमाडौं महानगरपालिकाले स्थानीयबासीको अवरोध हटाउनका लागि संघीय सरकारसँग अनुरोध गरेको बताएको छ ।
महानगरपालिकाले उक्त सडक निर्माणको जिम्मा संघीय सरकारको भएकाले त्यसमा सहजीकरण गरेर फोहर व्यवस्थापन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइसकेको जनाएको छ । महानगरपालिकाले सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयवासीको अवरोध हटाइदिन माग गरेको छ ।
तर, स्थानीयबासीले सडक अवरुद्ध पारेको १० दिनसम्म संघीय सरकारले खुलाउनका लागि प्रभावकारी पहल गर्न सकेको छैन ।मुलुकको राजधानीसमेत रहेको उपत्यकामा फोहर व्यवस्थापनको समस्या समाधान गर्न नसक्नु सरोकारवाला निकायको कमजोरी हो ।
अहिले स्थानीयबासीले अवरोध गर्नुका कारण् बनेको पासाङल्हामु राजमार्गकोनिर्माण कार्य ०७० सालदेखि सुरू गरिएको थियो । उक्त राजमार्ग अहिलेसम्म बन्न नसक्दा यो समस्या उत्पन्न भएको हो । त्यहाँ पटकपटक स्थानीयवासीले आन्दोलन गरेकाले फोहर विसर्जनमा अवरोध हुँदै आएको छ ।
सडक बनाउने जिम्मेवारी संघीय सरकारको भन्दै महानगरपालिकाले हारगुहार गरिरहेको छ । सडक बनाउने जिम्मा पाएको निकायबाट तत्काल यसको सुनुवाइ नगर्नु पूर्णतः गैरजिम्मेवारीपूर्ण देखिन्छ । समयमा राजमार्गको काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन नसक्नु सरोकारवाला निकायको कमजोरी हो ।
सिसडोलमा फोहर व्यवस्थापन गर्ने ठाउँ भरिँदै गएपछि बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण सुरू गरेको पनि वषौं भइसक्यो । तर निर्धारित समयमा काम सम्पन्न नहुँदायो समस्या दोहोरिने गरेको छ । समयमा नै बञ्चरेडाँडा तयार भएको अवस्थामा सिसडोलको अवरोधले उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुने थिएन । सरोकारवाला निकाय यसबारे जानकार भए पनि निर्माण कार्यलाई गति दिन सकेको छैन ।
राजमार्ग र बञ्चरेडाँडाको फोहर व्यवस्थापन केन्द्र निर्माणमा भएको ढिलाइले राजधानीवासीको स्वास्थ्यमा गम्भीर जोखिममा पारेको छ । भर्खरै कोरोना भाइरसको महामारी कम भएको अवस्थामा उपत्यकामा थुप्रिएको फोहरका कारण थप संक्रामक रोग फैलने खतरा बढेको स्वास्थ्यविज्ञहरूले चेतावनी दिएका छन् । जाडो मौसम सकिन लागेको र गर्मीको सिजन सुरु हुन लागेकाले विभिन्न सरुवा रोको प्रकोप फैलने जोखिम रहिरहेकै बेला काठमाडौं उपत्यकामा फोहर थुप्रिदा स्वास्थ्यसम्बन्धी समस्या थपिनसक्ने जोखिम बढ्न उनीहरूको भनाइ छ ।
त्यसैले उपत्यकाबासीको स्वास्थ्यमा जोखिम निम्त्याउने फोहर व्यवस्थापनमा सरोकारवाला निकायको ध्यान जानुपर्छ । पटक–पटक दोहोरिने यो समस्याको दीर्घकालीन समाधानका लागि सरकारले तत्काल प्रभावकारी कदम चालोस् ।
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८ ११:४१