काठमाडौं - राप्रपाको केन्द्रीय समिति बैठक फागुन १८ र १९ गते बस्ने भएको छ ।कमल थापाले नयाँ पार्टी -राप्रपा नेपालकाे घोषणा गर्दा राप्रपाको केन्द्रीय समिति बैठक प्रभावित भएको छ ।
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बुधबार बिहीबारका लागि केन्द्रीय समितिको बैठक तय गरेता पनि कमल थापाले नयाँ पार्टी -राप्रपा नेपालकाे घोषणा गरेसँगै तयारी नपुगेको बताउदै एक साता पर सारेको हो ।
फागुन ७ गते कमल थापाले राप्रपा घोषणा गरेका थिए । थापाले पार्टी घोषणा गरेसँगै राप्रपाबाट केही नेताहरु उनीतिर लागेका छन् । पार्टीका कतिपय केन्द्रीय सदस्यहरु कमल थापातिर लाग्न सक्ने हुँदा तत्काल बैठक राख्न उपयुक्त नहुने निष्कर्षका साथ बैठक सारिएको राप्रपाका एक पदाधिकारीले बताए ।
सो क्रम अझै जारी रहने प्रवल सम्भावना रहेको नेताहरुले बताएका छन् । गत मंसिरमा भएको राप्रपाको महाधिवेशनबाट कमल थापा पक्षका पदाधिकारीसहित उल्लेख्य संख्यामा केन्द्रीय सदस्यहरु निर्वाचित भएका छन् ।उनीहरुमध्ये अझै पनि सदस्यहरु लिङ्देनको राप्रपातिरै रहेका छन् ।
यसअघिको थापाले पार्टी नफुटाउन ‘गीताको कसम’ खाएका थिए । साे कसम विपरित पार्टी परित्याग गर्दै नयाँ पार्टी गठन गरेका थिए । पार्टी विभाजनको सन्देश नजाने गरी राप्रपाका आफू निकटका नेताहरुलाई राजीनामा गराएर पार्टीमा भित्र्याउने रणनीतिमा उनी छन् ।
सोही अनुसार उद्दव पौडेल, सुशील श्रेष्ठ, चन्द्रबहादुर गुरुङ, राजाराम बर्तौलालगायतले पार्टी परित्याग गरेर थापातिर लागिसकेका छन् भने छिट्टै अन्य नेताहरु पनि उनीतिर लाग्ने दाबी राप्रपा नेपालका एक नेताले बताएका छन् ।
अबको केही समयमा को–कता भन्ने स्पष्ट हुने र बैठक बस्ने ती नेताको भनाइ छ । तर, राप्रपाका प्रवक्ता मोहनले भने तयारी नपुगेका कारण बैठक स्थगित गरिएको बताए ।
एमसीसीको विरोधमा पार्टीका भ्रातृ संगठन सडकमा रहेको तथा अन्य तयारीहरु पनि गर्नुपर्ने भएकाले बैठक जम्मा एक साताका लागि सारिएको उनको भनाइ छ । उनले पार्टी एकढिक्का रहेको भन्दै पार्टीप्रति आकर्षण पनि बढ्दै गएको बताएका छन् । राप्रपाको केन्द्रीय समिति बैठक फागुन १८ र १९ गते बस्नेछ ।