कठमाडौं -प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदै अनुमोदन गर्ने तयारीमा एमालेलाई न्याय मागेको छ ।एमसीसीमा एमालेको समर्थन जुटाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बुधबार बिहान बालकोट पुगेका खाँणलाई ओलीले सो माग गरेका हुन् ।
'संसदको सबैभन्दा ठूलो दल एमालेमाथि अन्याय भएको छ । कानून सबै दललाई समान रुपमा लागू गर्नुपर्नेमा त्यो गरिएन । हामीलाई न्याय दिनोस्, अनि मात्र हामी एमसीसी प्रक्रियामा सहभागी हुन सक्छौं,’ एमाले अध्यक्ष ओलीले गृहमन्त्री खाँणलाई भने ।
एमसीसीलाई लिएर सरकार अप्ठेरोमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री खाँणलाई सहमति जुटाउन एमाले अध्यक्ष ओलीकहाँ पठाएका हुन् । मंगलबार ओली आफै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
‘गृहमन्त्रीज्यूले एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग माग गर्नुभयो,’ एमाले अध्यक्ष ओलीका सञ्चार सहयोगी रामशरण बजगाँईले भेटवार्ताबारे बताएका छन् । उनले ‘अध्यक्षज्युले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो ।’
सत्तारुढ पाँच दलमध्ये एमसीसी अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस मात्र रहेको छ । बाँकी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने बताएका छन् ।