उम्किदै थियो रातको प्रहर
पर्खीरहेथ्यो केही झिपिक्क नगरी नयन
गुञ्जीरहेथ्यो एक तमासले नाद कानमा ।
यता पल्टिन्छु
उता पल्टिन्छु
बिझाउँछ विस्तरा पनि ।
शायद निदले बास नै पाएन
मभित्रको स्वाभिमान औडाहले छट्पटाइरहेछ–
मैले निदाउनु हुन्न
आगोको लप्का ओकल्नु छ
जुनको उज्यालो छर्नु छ ।
मानौं
जिखीपुर्गिहरु खबरदारी गर्दैछन्–
वेप्रवाह किञ्चित माया नराखी
हाम्रो रगत–पसिनाले सिञ्चेको भुमि
खुल्लाम खुल्ला बलत्कृत भएको देख्दा
खप्नै नसक्नेगरी यो छाती भत्भती पोल्छ ।
ए, निदाएर बसेका मेरा सन्तान हो
ब्युँझ, चेतनाको आँखा खोलेर उठ
एक फेरा माथि थामडाँडामा उभिएर हेर
जसलाई तिमीले
तिम्रो उन्नति प्रगतिको नाममा
समाजको विकासको नाममा
जिमीभुमि हुँ भनेर बक्सिसमा दियौ
दानवीर बन्ने लोभमा दान दियौ
वा तिमीसँग
जसले खोसेर लिए
जसले जालसाँझ गरेर लिए
ती बेसौटेहरुलाई
यो भुमि उनीहरुको हुँदै होइन
उ हेर
हामीले खोरिया फाँडेर बनाएका खेतवारीका कान्ला र गराहरु
हामीले प्रेमपूर्वक सँगालेर राखेको माटोका ढिस्काहरु
हामीले जतनसाथ पहराका टेका लगएका बनबुट्यानहरु
हामीले सुम्सुमाएरका सामा मिलाएका खानानालाहरु
हामीले स्याहारेर राखेका पशुपंक्षीहरु
आर्तनादले चिच्याइरहेछन्–
बचाऊ १ बचाऊ ११ बचाऊ १११
हो, अब तिमीहरुले
निम्लो जगाउने दिन मायो
बच्र्छाले उधिनेर
हलुण्डाले बाँधेर
सोरुल हान्ने दिन आयो
ब्युँझ जाग
मेसेल्मि जगाएर
कालो होमोहोपो भाकेर
कलिजोजोर उठाएर
धनुषवाण चलाउने दिन आयो ।
ए, निदाएर बसेका मेरा सन्तान हो
ब्युँझ, चेतनाको आँखा खोलेर उठ
एक फेरा माथि थामडाँडामा उभिएर सुन
कति दर्दनाक छ माटोको अर्तनाद र?
–शोभा सुनुवार जुलियट
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८ १८:४५