काठमाडौं — नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । १० दिने तालिममा मधेस प्रदेशका आठै जिल्लाका गरि २० जना सहभागी रहेको प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम संयोजक अशोक राईले बताए ।
चेतना सन्देश नेपालको स्थानीय व्यवस्थापनमा हरिवन ५, स्थित द्वन्द्व पीडित बालगृहमा प्रशिक्षण भइरहेको छ । प्रदेश सदस्य डिल्लीप्रसाद उप्रेती एबं बेची लुङेलीले ढोलक र मादल बजाएर तालिमको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाले कार्यक्रममा यस प्रकारको मधेसको पहिचान ढोलकसँगै मादलको संयोजन गरि प्रशिक्षण कार्यक्रमलाई सहकार्य गर्न पाएकोमा आयोजक संस्थाप्रति आभार ब्यक्त गरेका थिए ।
सांस्कृतिक संस्थानका पूवमहाप्रबन्धक राजेश थापाले प्रत्येक बिधालयमा संगीत शिक्षकको दरबन्दी राख्न सुझाव दिए । नेपाली मौलिक संगीत विश्वस्तरीय बनाउन निरन्त रूपमा सैद्धान्तिक र व्यवहारिक पक्षबाट दक्ष बाध्यबादक प्रसस्त रूपमा उत्पादन गर्न आवश्यक रहेको उनको भना छ ।
त्यसको लागिनिरन्तर गाउँस्तरसम्म संगीत प्रशिक्षण गराउन जरुरी भएको प्रतिष्ठानका संगीत विभाग प्रमुख प्राज्ञ अशोक राईले बताए । कार्यक्रममा सामाजिक ब्यक्तित्व चूडामणि वाग्ले, कलाकर्मी तेज नारायण आले, चन्द्रलाल केप्छाकी लगायतले आफ्नो धारणा राखेका थिए । बरिष्ठ ताल बाध्यबाधक भरत बुडाथोकीले प्रशिक्षण दिने यो कार्यक्रम फागुन ५ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।