बाँके– सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल ए.पी.एफ.अस्पतालसँगको सहकार्यमा विहिबार महिला स्वास्थ्य समस्यासँग सम्बन्धित जनचेतनामुलक कार्यक्रम र भी.आई.ए., भी.आई.एल.आई.जाँच तथा पहिचान र उपचार तालिम आयोजना गरेको छ ।
सो प्रशिक्षणमा नेपाल ए.पि.एफ.अस्पतालका गाईनोकोलोजी अन्कोलोजीष्ट प्रा.सशस्त्र प्रहरी उपरीक्षक डा.सौजन्य कर्मचार्य लगायतको टिमले रोगको उपचार विधि तथा महिलाको पाठेघर सम्बन्धि विविध समस्याको समयमा पहिचान नहुँदा आउन सक्ने जटिलता र रोग बारेमा बताएका थिए । उनले रोग लागेपछि गरिने उपचारको बारेमा तथा भी.आई.ए., भी.आई.एल.आई. जाँच,सोको पहिचान र उपचारका साथै महिलाको पाठेघर सम्बन्धी रोगको उपचारमा प्रयोगमा आउने उपकरण सम्बन्धी बिषयमा बिस्तृत जानकारी प्रदान गरेका थिए ।
सो प्रशिक्षणमा प्रहरी जवान तालिम शिक्षालय नौबस्ता बाँके, नेपाल ए.पि.एफ.स्कुल बाँके र मध्यपश्चिम क्षेत्रिय अस्पताल कोहलपुर बाँकेमा कार्यरत महिला सशस्त्र प्रहरी तथा भु.पु.महिला कर्मचारीहरूका आश्रित महिला सदस्यहरू, स्थानिय महिला दिदिबहिनीहरू गरी ११८ जनाको सहभागिता रहेको थियो ।
सोहि अवसरमा लुम्बिनी प्रदेशका प्रहरी बल, नेपालका एकाईहरूमा एम.आई.रुममा कार्यरत स्वास्थ्यकर्मी, र स्थानीय क्लिनिकका स्वास्थ्यकर्मीहरू गरी २१ जनालाई भी.आई.ए., भी.आई.एल.आई.जाँच तथा पहिचान र उपचार सम्बन्धि तालिम प्रदान गरिएको हो ।
सशस्त्र प्रहरी परिवार महिला संघले महिलाहरूको पाठेघरमा देखिने विभिन्न समस्याहरूको समयमा नै पहिचान गरी उपचारमा सहज होस भन्ने उदेश्यले उक्त तालिम तथा जनचेतनामुलक कार्यक्रम आयोजना गर्दैआएको छ ।